विप्लव समूहले हत्या गरेका शिक्षकलाई सहिद घोषणा गर्न माग

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले हत्या गरेका शिक्षक राजेन्द्र श्रेष्ठलाई सहिद घोषणा गर्न नेवाः देय दबुले माग गरेको छ ।

मोरङको मिक्लाजुङ गाउँपालिका १ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको एक महिनाअघि हत्या भएको थियो । 

नेवा : देय दबु केन्द्रीय कार्यालय, प्रदेश १  र मोरङले संयुक्त रूपमा ज्ञापनपत्र बुझाउँदै सहिद घोषणाको माग गरेका हुन् । बुधबार मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईएको हो । शिक्षक श्रेष्ठको हत्या भएको एक महिना पुग्दासम्म प्रहरीले आरोपीलाई पक्राउ गर्न सकेको छैन ।  

ज्ञापनपत्रमा शिक्षकलाई सहिद घोषणा गरिनु पर्ने र पीडित परिवारलाई राज्यले क्षतिपूर्ती दिनुपर्ने माग गरिएको छ । ५४ वर्षिय श्रेष्ठको घरदेखि करिब १ किलोमिटर टाढा बर्खेको जंगलमा लगेर निर्मता पूर्वक दुवै हात बाँधेर धारिलो हतियार प्रयोग गरि घाँटी रेटेर हत्या गरेको अवस्थामा गत मंसिर २३ गते शव फेला परेको थियो ।