पाकिस्तानको पश्चिमी प्रान्त बलुचिस्तानमा कोइला खानीमा काम गर्ने ११ जना मजदुरको हत्याको जिम्मा इस्लामिक स्टेट समूहले लिएको छ।
ती मजदुरहरूलाई अपहरण गरेर कोइला खानी नजिकै शनिवार हत्या गरिएको थियो।
मारिनेहरू शिया इस्लाम सम्प्रदायका सीमान्तकृत हजारा समुदायका मानिसहरू हुन्।
शिया इस्लाम धर्म मान्ने भएकाले उनीहरूलाई कट्टरपन्थीहरूले निसाना बनाउने गरेका छन्।

प्रधानमन्त्री इमरान खानले उक्त घटनालाई “अमानवीय आतङ्ककारी कार्य” भन्दै निन्दा गरेका छन्।
६ जना मजदुरहरू घटनास्थलमै मारिएका थिए भने अन्य पाँच जनालाई अस्पताल लादै गर्दा बाटोमै निधन भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै डन पत्रिकाले लेखेको छ।
बीबीसी सम्वाददाता सिकन्दर केर्मानीका अनुसार एउटा भिडिओमा पीडितहरूको शव क्षतविक्षत अवस्थामा देखिएको छ भने उनीहरूको हात बाँधिएको छ।
न्याय माग्दै पीडितका परिवारले मुख्य सडकमा शव राखेर सवारीसाधनहरू रोकिदिएका छन्।

अधिकारीहरूले दोषीलाई पक्राउ गर्ने बाचा गरेका छन्।
सुन्नीबहुल पाकिस्तानमा हजारा समुदायलाई कट्टरपन्थीहरूले बारम्बार निसाना बनाउने गर्छन्। विविसी अनलाइनले समाचार लेखेको छ ।











