नतिजा उल्ट्याउन उच्च निर्वाचन अधिकारीलाई ट्रम्पको दबाब

हार स्वीकार नगरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर ३ मा भएको चुनावको नतिजा उल्ट्याउनका लागि आवश्यक मत ‘खोज्न’ उच्च निर्वाचन अधिकारीलाई ‘आदेश’ दिएका छन् ।

दुई महिनाअघि भएको चुनावमा ट्रम्प डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनसँग पराजित भएका हुन्। बाइडेनले ३०६ तथा ट्रम्पले २३२ इलेक्टोरल कलेज मत पाएका छन् ।

सो मत इलेक्टोरल कमिटिबाट प्रमाणिकरण भएको छ र अब सदनले पारित गर्ने तयारी छ । बाइडेनले जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिँदै छन् ।

तर ट्रम्पले बिना कुनै प्रमाण चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन् ।

उनी र उनको टिमले दायर गरेका मुद्दाहरु प्रमाणको अभावमा अदालतले खारेज वा विपक्षमा फैसला गरेका छन् ।

ट्रम्प भने अझै पनि प्रमाण बिना चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन् । केही रिपब्लिकन सांसदहरु त्यसकै पछि लागेका छन् ।

ट्रम्पले नतिजा उल्ट्याउनका लागि अहिलेसम्म गरेका सबै प्रयास विफल भएका छन् । उनले पछिल्लो पटक जो बाइडेनको जितका लागि महत्वपूर्ण साबित भएको ‘स्वीङ्ग स्टेट’ जर्जियाका उच्च निर्वाचन अधिकारीलाई आफ्नो जितका लागि चाहिने मत ‘निकाल्न’ दबाब दिएका हुन् ।

जर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड राफेनस्पगरलाई टेलिफोन गरेर ट्रम्पले आफ्नो जितका लागि चाहिने मत निकाल्न भनेका हुन् ।

द वासिङ्गटन पोस्टले आइतबार ट्रम्पले जर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड राफेनस्पगरसँग गरेको एक घण्टा भन्दा लामो टेलिफोन संवाद सार्वजनिक गरेको हो ।

त्यसमा ट्रम्पले सेक्रेटरी अफ स्टेट राफेनस्पगरलाई नतिजा उल्ट्याउनका लागि चाहिने ११ हजार, ७८० मत खोज्न भनेका हुन् । जर्जियामा बाइडेन साँघुरो मत अर्थात ११ हजार ७७९ मतले विजयी भएका थिए ।

रिपब्लिकन राष्ट्रपति ट्रम्पले रिपब्लिकन सेक्रेटरी अफ स्टेट राफेनस्पगरलाई टेलिफोनमा भनेका छन्, ‘म मात्रै ११ हजार ७८० मत खोज्न चाहन्छु ।’ सेक्रेटरी अफ स्टेट राफेनस्पगरले जर्जियाको नतिजा सही र सत्य रहेको जवाफ दिएको टेलिफोन संवादमा सुनिन्छ ।

ट्रम्पले जर्जियामा बाइडेनले भन्दा आफूले धेरै मत पाएको घोषणा गर्न राफेनस्पगरलाई दबाब दिएका हुन् । ट्रम्पले भनेका छन्, ‘११ हजार ७८० मत, जुन उनीहरुको भन्दा एक मत मात्रै धेरै हो। मैले त्यति मत प्राप्त गरेको भन्दा केही गलत हुँदैन ।’

जर्जियामा तीन पटक मतगणना भएको थियो, त्यसमा बाइडेन विजयी भएका थिए । टेलिफोन संवादमा राफेनस्पगरले ट्रम्पलाई उनले पाइरहेको धाँधली सम्बन्धी सूचना गलत रहेको बताएका छन् ।

तर ट्रम्प भने लगातार आफ्नो पक्षमा नतिजा पार्नका लागि चाहिने मत खोज्न भनिरहेको सुनिन्छन्। ट्रम्पले सो क्रममा अभद्र भाषाको प्रयोग पनि गरेका छन् ।