प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर संसद विघटनबिरुद्ध संयुक्त आन्दोलन गर्ने तयारी नेपाल कम्युनिष्ट पार्टी दाहाल-नेपाल समूहले गरे पनि कांग्रेस सभापति शेरबहादुर देउवाले यसबारे ‘ग्रिन सिग्नल’ नदिँदा सशक्त कार्यक्रम सार्वजनिक गर्ने दिन धकेलिँदै गएको छ।
दाहाल- नेपाल नेतृत्वको नेकपाले बुधबार नै पत्रकार सम्मेलनमार्फत सशक्त संघर्षका कार्यक्रम अगाडि ल्याउने जानकारी दिए पनि कांग्रेस र जसपासँग मिलेर संयुक्त आन्दोलन गर्ने अपेक्षाका साथ उनीहरुले कार्यक्रम धकेलेका थिए।
यसबारे छलफल र सल्लाह गर्न नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले बुधबार नै कांग्रेसका नेताहरु रामचन्द्र पौडेल, मिनेन्द्र रिजाल र रमेश लेखकलगायतसँग भेट गरेका थिए। नेताहरु पौडेल, रिजाल र लेखकले यसबारे सकारात्मक हुँदै सभापति शेरबहादुर देउवासँग थप छलफल गरी स्पष्ट हुने बताएका थिए। देउवासँगको भेटमा रामचन्द्र पौडेलले यसबारे जानकारी गराउँदा उनले कुनै स्पष्ट धारणा व्यक्त नगरेको स्रोतले जानकारी दिएको छ।
अध्यक्ष दाहालले बिहीबार यसबारे छलफल गर्ने कांग्रेस सभापति देउवाको समय लिन खोजे पनि सम्भव नभएको स्रोतले जानकारी दिएको छ।
अध्यक्ष दाहालले बुधबार नै जसपाका नेताहरु डा. बाबुराम भट्टराई र उपेन्द्र यादवसँग यसबारे भेटेका थिए। कांग्रेस तयार भएमा संसद विघटनबिरुद्ध संयुक्त आन्दोलन अघि बढाउन जसपा तयार भए पनि कांग्रेसको ठोस धारणा नआउँदा यसबारे निर्णय गर्न नसकिएको नेकपा दाहाल-नेपाल समूहले जानकारी दिएको छ।
जसपाका नेताहरुले कांग्रेस आन्दोलनका लागि तयार भए आफू पनि संयुक्त आन्दोलनमा सामेल हुने जानकारी दाहाललाई दिएका थिए।