पूर्वराष्ट्रपति डा. रामवरण यादवले संसद विघटन असंवैधानिक भएको बताएका छन् । यसले देश अनिश्चितताको बाटोमा गएको उनको विश्लेषण छ ।
राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा बिहीबार आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति यादवले प्रतिनिधिसभा विघटनको कदमले संविधान, लोकतन्त्र र राष्ट्रियतालाई दुरगामी असर पार्ने बताए । अब आशा र भरोसाको संस्था अदालतबाट न्याय हुनेमा अरु लोकतन्त्रवादी जस्तै आफू पनि आशावादी रहेको उनले बताए ।
२०३३ सालमा बीपी कोइराला र गणेशमान सिंह क्षेत्रीय राजनीतिको जटिलताका कारण मेलमिलापको नीति लिएर नेपाल फर्किएको स्मरण गर्दै पूर्वराष्ट्रपति यादवले अहिलेको परिस्थितिमा क्षेत्रीय राजनीति झनै जटिल बनेको बताए ।
नेपालको राजनीतिक अवस्थाबारे अन्तर्राष्ट्रिय ध्यान केन्द्रीत भएको भन्दै उनले यस्तो अवस्थामा लोकतान्त्रिक संस्थाहरुले आफ्नो कर्तव्य निर्वाह गर्न सक्नुपर्ने बताए ।