ललितपुरको बीएन्डबी अस्पतालअगाडि चक्रपथमा बिहीबार साँझ टाटा सुमोको ठक्करले दुई पैदल यात्रीको मृत्यु भयो।
पैदल यात्री बीएन्डबी अस्पतालकै कर्मचारी थिए। साँझ पौने ७ बजे अस्पताल अगाडि रहेको चक्रपथ सडक खण्डमा बाटो काट्न लाग्दा उनीहरुलाई टाटा सुमोले ठक्कर दिएको थियो। उनीहरु आकाशे पुल हुँदा हुँदै त्यसभन्दा मुनिबाट बाटो काट्दै थिए।
मृत्यु हुनेमा ३४ वर्षीया सुनिता सापकोटा र ५० वर्षीय कृष्णप्रसाद तिम्सिना छन्। महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख मित्रराम शर्माले अनुसन्धानका लागि चालकलाई नियन्त्रणमा लिइएको बताए। चालक ३१ वर्षीय मिनबहादुर तामाङविरुद्ध सवारी ज्यान मुद्धामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पछिल्लो एक वर्षभित्र यही पुलको मुनिबाट बाटो काट्न खोज्दा अन्य दुई जना पैदल यात्रीको पनि मृत्यु भएको थियो।
बीएन्डबीमा मात्र होइन, पछिल्लो एक वर्षमा बालकुमारीस्थित आकाशे पुलको नजिकै भएका सडक दुर्घटनामा पनि दुई जना पैदल यात्रीको मृत्यु भएको थियो। उनीहरु पनि नजिकै आकाशे पुल हुँदाहुदै सडकबाट हिँडेर बाटो पार गर्न खोज्दै थिए।
‘पैदल यात्रीलाई जेब्रा क्रसिङबाट, आकाशे पुलबाट मात्र बाटो पार गर्नुपर्छ भन्ने चेतना अझै देखिएन। लापरबाहीले अकालमा ज्यान गुम्ने अवस्था देखिएको छ’, ललितपुर प्रहरी परिसरका एक अधिकारीले भने।
दुर्घटनामा मृतक पक्षको गल्ती र लापरबाही देखिएका घटनामा पनि प्रहरीले ठक्कर दिने साधनका चालकलाई हिरासतमा राखेर अनुसन्धान गर्ने गरेको छ। चालु आर्थिक वर्षमा मात्र काठमाडौँ उपत्यकाभित्र सडक दुर्घटनामा २० जना पैदल यात्रुसहित ६८ जनाको मृत्यु भएको छ।
यीमध्ये ३१ जना मोटरसाइकल/स्कुटीमा सवार रहेको रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। सडक तथा सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये यो वर्ष ६१ जना पुरुष र ६ जना महिला रहेका छन्। गत आर्थिक वर्षमा काठमाडौँ उपत्यकाभित्र भएका सडक तथा सवारी दुर्घटनामा एक सय ५३ जनाको मृत्यु भएको थियो।
तीमध्ये एक सय २२ जना पुरुष र ३१ जना महिला थिए। लकडाउन सुरु भएयता काठमाडौँ उपत्यकामा एक सय चार जनाले ज्यान गुमाएका छन्। यीमध्ये मंसिर महिनामा मात्र १९ जनाले सडक तथा सवारी दुर्घटनामा ज्यान गुमाएका छन्।
८ वर्षमा ५२३ पैदल यात्रुको मृत्यु
महानगरीय ट्राफिक प्रहरी महाशाखायता चालु आर्थिक वर्षलाई छाड्ने हो भने पछिल्ला ८ वर्षभित्र काठमाडौँ उपत्यकामा भएका सडक तथा सवारी दुर्घटनामा पाँच सय २३ जना पैदल यात्रुले ज्यान गुमाएका छन्।
यो अवधीमा ६ सय ३४ जना मोटरसाइकल/स्कुटरमा सवारले ज्यान गुमाएका छन्।
गत आर्थिक वर्षमा ५० जना पैदल यात्रीले ज्यान गुमाएका थिए। आर्थिक वर्ष ०७५/७६ मा ९३ जना पैदल यात्रीले ज्यान गुमाएको महाशाखाको तथ्यांक छ। तथ्यांकअनुसार गत आर्थिक वर्षमा मोटरसाइकल/स्कुटरमा सवार ८१ जनाले ज्यान गुमाएका थिए।