चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरिय टोली काठमाडौँमा अबतरण, नेकपाको बिवाद मिलाउने प्रयाश थालिंदै !

चिनियाँ कम्युनिष्ट पार्टीका उच्च नेताहरु सम्मिलित चार सदस्यीय टोली एयर चाइनाको चार्टर्ड विमानबाट आइतबार दिउँसो काठमाडौँ आइपुगेको छ।

नेकपाको विवाद गहिरिँदै जाँदा त्यसको असर राष्ट्रिय राजनीतिमा पनि परेको अवस्थामा छलफल र संवादका लागि चिनियाँ टोली काठमाडौँ आइपुगेको छ।

यद्यपि यसबारे परराष्ट्र मन्त्रालयले कुनै ‍औपचारिक जानकारी दिएको छैन।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली आइतबार दिउँसो साढे १ बजेतिर काठमाडौं आइपुगेको विमानस्थल स्रोतले जानकारी दिएको छ।

चिनियाँ राष्ट्रपति सी जिङपिङको सन्देश लिएर उक्त टोली काठमाडौँ आइपुगेको बुझिएको छ। उक्त टोलीले नेकपाका उच्च नेताहरुसँग संवादका लागि समय पनि लिइसकेको स्रोतले जानकारी दिएको छ।

यसअघि नेपालस्थित चिनियाँ राजदूत होउ याङ्छीले नेकपाका नेताहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायतसँग भेट गरेकी थिइन्।