नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीको बैधानिकताका आधारमा केपी ओली नेतृत्वको नेकपाले नै सूर्य चिह्न पाउने ठोकुवा गर्नुभएको छ ।
पार्टीको वैधानिकता र आधिकारिकताबारे निर्वाचन आयोगमा प्रक्रिया चलिरहेको भन्दै नेता पोखरेलले सूर्य चिह्न आफूहरुले नै पाउने बताउनु भएको हो । आफ्नै निर्वाचन क्षेत्र काठमाडौं–५ का नेता–कार्यकर्तालाई आज सम्बोधन गर्दै नेता पोखरेलले पार्टीबाट अलग भएको अर्काे समुहले सूर्य चिन्ह नपाउने प्रष्ट पार्नुभयो ।
‘निर्वाचन आयोगमा त्यसको प्रक्रिया चलिरहेको छ, तपाईंहरुलाई म जिम्मेवारपूर्वक भन्न चाहान्छु, केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी नै आधिकारिक हुन्छ र सूर्य चिह्न पनि यही पार्टीले पाउने छ,’ उपप्रम पोखरेलले भन्नुभयो । पार्टी र पार्टीको चिह्नबारे कुनै पनि द्विविधा नराख्न पनि उहाँले कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । ‘हामी हार्दा पनि यही रहन्छौं र जित्दा पनि यहीँ रहन्छौं,’ पोखरेलले भन्नुभयो ।