आफ्नो सम्पूर्ण जिम्मेवारी संसद् जीवित राख्न र नयाँ सरकार बनाउन केन्द्रित हुन्छः प्रचण्ड

दाहाल-नेपाल समूहका तर्फका प्रतिनिधिसभाका सांसदहरुको बैठकबाट नेकपा संसदीय दलको नेता भएका नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो सम्पूर्ण जिम्मेवारी संसद् जीवित राख्न र नयाँ सरकार बनाउन केन्द्रित हुने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि त्यसलाई अस्वीकार गर्दै आएका अध्यक्ष दाहालले केन्द्रीय कमिटिको बैठकले अध्यक्षबाट ओलीलाई जिम्मेवारीमुक्त गरेपछि आफूले संसदीय दलको नेताको जिम्मेवारी पाएको र आफ्नो ध्यान संसद जीवित राख्न केन्द्रित हुने बताए।

उनले संसद जीवित राख्न आफ्नो सम्पूर्ण तागत लगाउने बताए। ‘यो धेरै ठूलो जिम्मेवारी हो, अब मेरो सबै तागत संसद जीवित राख्न लगाउनेछु।’

उनले आफू संसदीय दलको नेता बनेपछि आफू नयाँ सरकार बनाउन पनि तयारी गर्ने बताए।

यसअघि नेकपाका दाहाल-नेपाल पक्षका सांसदहरुको बैठकले नेकपाका अध्यक्ष दाहाललाई नेकपा संसदीय दलको नेता पदमा चयन गरेको थियो।