सरकारद्धारा संघीय संसद बैठक सञ्चालनको तयारी सुरु

संवैधानिक व्यवस्थाअनुसार अगामी पुस १४ गतेअघि सरकारले संघीय संसद बैठक आह्वान गनुपर्ने हुन्छ । सोही समयलाई मध्यनजर गरेर संघीय संसद सचिवालयले बैठक सञ्चालनका लागि तयारी सुरु गरेको छ ।
कोरोनाभाइरस संक्रमणको जोखिमका कारण सांसदहरुबीच दुरी कायम गर्दै बैठक सञ्चालनका लागि आवश्यक तयारी सुरु भएको संघीय संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाले रातोपाटीलाई जानकारी दिए ।
उनले भने, ‘संसदको हिउँदे अधिवेशनका लागि आवश्यक पर्ने व्यवस्थापकीय काम सुरु गरेका छौँ । यो पटकको अधिवेशनमा कोरोनाका कारण बढी संवेदनशीलता अपनाउनु पर्नेछ । यो संवेदनशील समयमा कसरी स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तवरले अधिवेशन सञ्चालन गर्न सकिन्छ भन्ने ढंगले संघीय संसद सचिवालयले विभिन्न पक्षहरुबाट अध्ययन तथा विश्लेषण गरेर काम अघि बढाएको छ ।’
विश्व स्वास्थ्य संगठनले तय गरेका मापदण्ड अनुसार सांसदहरुबीच कसरी दुरी कायम गर्न सकिन्छ, सुरक्षित रुपमा प्रवेश गर्नेदेखि, सभामा बस्ने र बाहिर निस्कनेसम्म के कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने तयारीमा सचिवालय जुटेको उनले बताए ।
यसका लागि विभिन्न सरोकारवाला पक्षहरुसँग छलफल गरेर आएका सुझाव अनुसार व्यवस्थापनको प्रक्रिया अघि बढाइएको सहप्रवक्ता धमलाको भनाइ छ ।