आइतबारको नेकपा स्थायी समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले राखेको राजनीतिक प्रस्तावअर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहबमोजिम फिर्ता नहुने अडान लिएका छन्।
प्रचण्डले स्थायी समिति बैठकमा सदस्यहरुलाई सम्बोधन गर्दै भने, ‘मैले राखेको प्रस्ताव सबैतिर पुगिसकेको छ, यसमाथि छलफल हुन्छ।’ उनले आफूले राखेको प्रस्ताव जनताको भइसकेको उल्लेख गर्दै यसमा छलफल हुनुपर्ने अडान लिएका थिए।
उनले बरु तार्किक निर्णयसहित आफ्नो प्रस्तावलाई विस्थापन गर्नसक्ने भन्दै लचकताको संकेत भने दिए। उनले करिब २० मिनेट बैठकलाई सम्बोधन गरेका थिए।
प्रधानमन्त्री तथा अध्यक्ष ओली भने आइतबारको बैठकमा सहभागी भएनन्।
अध्यक्ष प्रचण्डले भने- ‘आजको बैठकमा नआएर प्रधानमन्त्री ओलीले ठूलो भूल गर्नुभयो। पार्टीमा सबै समीक्षा हुनुपर्छ। आफू सहभागी सचिवालय बैठकको निर्णयअनुसार भएको पार्टी स्थायी समिति बैठकमा उहाँ नआउनु पार्टी नियमको उल्लंघन हो।’
बैठकको सुरुमा एक घन्टा प्रधानमन्त्री ओलीलाई पर्खिएरै बिताएका दाहाल तथा नेताहरुले ओली नआउने निश्चित भएपछि बैठक सुरु गरेका थिए।
बैठकका लागि ओलीले पठाएको पत्र उपप्रधानमन्त्री तथा पार्टी सचिवालय सदस्य ईश्वर पोखरेलले पढेर सुनाएका थिए।
पत्रमा ओलीले प्रचण्डलाई आफ्नो राजनीतिक प्रस्ताव फिर्ता लिन आग्रह गर्दै सदस्यहरुसँग विवेक प्रयोग गर्न आग्रह गरेका थिए।
नेकपा स्थायी समितिको अर्को बैठक मंसिर २८ गतेका लागि तय भएको छ भने केन्द्रीय कमिटी बैठक पुस ५ गतेका लागि तोकिएको छ।











