अध्यक्ष ओलीको असन्तुष्टिका बीच नेकपा स्थायी समिति बैठक धुम्बाराहीमा बस्दै

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठक आइतबार दिउँसो १ बजे बस्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा यसअघि अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डले ल्याएको प्रस्ताव पेश भइ छलफलमा जाने बताइएको छ । तर, पार्टी अध्यक्ष ओली स्थायी समिति बैठकको विपक्षमा रहेकाले आजको बैठक प्रभावित हुने सम्भावना पनि उत्तिकै छ ।

शनिबार बसेको सचिवालय बैठकले अध्यक्षद्वय ओली र प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव स्थायी कमिटीमा छलफल गर्ने निर्णय गरेको थियो ।

राजनैतिक विश्लेषकहरुले आजको सचिवालय बैठकमा ओलीको भावनालाई समेटेर जान नसके विभाजनको रेखा कोरिने बताएका छन् । दुई अध्यक्ष ओली र दाहालले सचिवालयमा बुझाएका दस्तावेजलाई एउटै बनाएर लैजाने सवालमा आन्तरिक सहमति हुन नसके त्यसले नेकपा बिभाजन हुने उनीहरुको बुझाई छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टीको संकट निवारण सम्बन्धमा अहिलेसम्म सचिवालयमा प्रस्तुत प्र्रस्तावहरु स्थायी कमिटीको बैठकमा पेस गरी सार्थक निष्कर्षका निम्ति छलफल अगाडि बढाइने छ ।

शनिबारको सचिवालय बैठकमा ओलीले पार्टी विवाद सचिवालय बैठकबाटै मिलाउनुपर्नेमा पुनः जोड दिएका थिए । सचिवालय बैठकमा बोल्दै ओलीले अधिकांश सदस्यहरुले सचिवालयबाट निकास ननिस्केपछि दुवै अध्यक्षका प्रतिवेदनमाथि स्थायी कमिटीमा छलफल गरेर निष्कर्ष निकाल्न दिएको सुझावलाई प्रतिवाद गर्दै स्थायी समितिलाई ‘रत्यौली’को संज्ञा दिएका थिए।

‘स्थायी समितिमा जाने भनेको के हो रु के स्थायी समितिमा रत्यौली खेल्न जाने हो रु’, ओलीको प्रश्न थियो, ‘आजपनि तपाईंहरुले बल प्रयोग गरेर बैठक भएको हो । यो बैठकमा बल प्रयोगकै हो । अव त्यो स्थायी समिति पनि बल प्रयोगकै हुने हो’, ओलीको आक्रोश थियो । नेकपाकै नेताहरुले दुई अध्यक्ष बीचको वार्ता र समझदारीको संभावना टरेको छ ।

तर अध्यक्ष एव प्रधानमन्त्री केपी शर्मा भने बैठकमा सामेल हुने या नहुने अझै अनिश्चित छ।

शनिबारको सचिवालय बैठकमा ओलीको प्रस्तुति हेर्दा उनी आइतबारको स्थायी कमिटि बैठक सामेल हुने सम्भावना निकै कम छ।
तर ओली निकट नेता सुवास नेम्वाङले भने ओली बैठकमा सामेल हुने दाबी गरेका छन् ।

उनले प्रधानमन्त्री ओलीले बैठकमा सामेल हुँदैन भनेर कहिल्यै नभनेको बताए।

आइतबारको बैठकमा ओली र अर्का अध्यक्ष पुष्पकम दाहाल प्रचण्डको प्रस्ताव पेश गर्ने तयारी छ।

स्थायी कमिटि बैठकमा समस्या समाधानका लागि कार्यदल गठन हुने सम्भावना पनि छ।