चीनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई बधाई दिएको छ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई चीनले ढिला गरी शुक्रबार बधाई दिएको हो ।
यसअघि विश्वका शक्तिराष्ट्र मानिने फ्रान्स, जर्मनी, बेलायत, जापान, दक्षिण कोरिया, इजरायललगायतका देशले बाइडेनलाई बधाई दिए पनि चीनले पनि औपचारिक रुपमा कुनै प्रतिक्रिया दिएको थिएन ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले शुक्रबारको प्रेस कन्फरेन्समा राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई दिएका हुन् ।

प्रवक्ता वाङको भनाई उद्धृत गर्दै समाचार संस्था एपीले लेखेको छ, ‘हामी अमेरिकी नागरिकको छनोटलाई सम्मान गर्छौं । बाइडेन र ह्यारिसलाई बधाई दिन चाहन्छौं । साथै चुनावी परिणाम अमेरिकी कानुन र प्रक्रियाअनुसार पुष्टि हुन्छ भन्ने अपेक्षा राख्दछौं ।’
यसअघि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चीनले बाइडेनलाई बधाई नदिनुका कारणको आकलन गर्दै सामग्री प्रकाशित भएका थिए । चिनियाँ भाषाका अधिकांश सञ्चारमाध्यमले बाइडेनले चुनाव जितेको उल्लेख गरेका थिए । साथै उनीहरुले बाइडेनलाई बधाई दिँदा ह्वाइट हाउसबाट बाहिरिनुअघि डोनाल्ड ट्रम्पले चीनविरुद्ध कदम चाल्न सक्ने चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका थिए । फरेन पोलीसी डट कममा प्रकाशित एउटा लेखमा आइक फ्रेम्यानले बेइजिङले बाइडेनलाई बधाई दिन उपयुक्त समय पर्खिरहेको बताएका थिए ।