नेपाल-‍भारत सम्बन्ध: भारतीय स्थल सेनाका प्रमुख मनोज मुकुन्द नरवणेको भ्रमण परम्परा धान्न मात्र कि त्योभन्दा अझ बढी ?

भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे बुधवार तीनदिने भ्रमणका लागि नेपाल आए। यस भ्रमणलाई दुई देशका सेनाबीच रहेको परम्पराभन्दा भिन्न रूपमा लिइनुपर्ने रणनीतिक मामिलाका विज्ञहरूले बताएका छन्।

नेपाल-भारत सीमा विवादका कारण झन्डै एक वर्षसम्म लगभग संवादहीन रहेको दुई देशबीचको सम्बन्ध सैनिक तहमा भएको यो उच्चस्तरीय भ्रमणले केही सुधार ल्याउन सक्ने केही विश्लेषकहरूले धारणा छ।

नेपाल र भारतबीच एक अर्काका सेनाप्रमुखलाई ‘मानार्थ महारथीको’ सम्मान दिने अभ्यास छ।

नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी आफ्नो भूभाग भएको भन्दै देशको राजनीतिक नक्सामा स्पष्ट रूपमा राखेपछि त्यसबारे विवादास्पद अभिव्यक्ति दिएका नरवणेको भ्रमण कोरोनाभाइरस महामारी देखाउँदै यसअघि स्थगित भएको थियो।

अहिले उनले व्यक्त गर्ने सन्देशलाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न केही दिनअघि काठमाण्डू आएका भारतीय गुप्तचर निकायका प्रमुखले ल्याएको सन्देशसँग दाँजेर हेर्नुपर्ने एक विश्लेषकको धारणा छ।

नेपाल र भारत दुवैले यो भ्रमण दुई देशबीचको सैनिक सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण हुने धारणा भारतीय सेनाध्यक्षको नरवणे काठमाण्डूमा ओर्लिनुअघि नै सार्वजनिक गरेका छन्।

भारतीय सेनाध्यक्षले आफ्ना समकक्षी पूर्णचन्द्र थापा र उच्च सैनिक अधिकारीहरूसँग छलफल गर्नेबाहेक रक्षा मन्त्रालयको पनि जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन्।

बिहीबार अपराह्ण राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिने कार्यक्रम छ।

भारत र नेपालका सेना प्रमुखलाई एकअर्काको देशको मानार्थ महारथीको उपाधि दिने चलन छ
तस्बिरको क्याप्शन,भारत र नेपालका सेना प्रमुखलाई एकअर्काको देशको मानार्थ महारथीको उपाधि दिने चलन छ

नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौड्यालका अनुसार एक अर्काका सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने विशिष्ट अभ्यास नेपाल र भारतका सेनाबीच मात्रै छ।

उनका अनुसार सेनासँगको अभिलेखका अनुसार सन् १९५० मा भारतीय सेनाका प्रथम कमान्डर इन चीफ के एम करिप्पालाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइएको थियो।