ट्रम्पले फ्लोरिडाको निर्वाचन र्‍यालीमा भने ‘म रोग प्रतिरोधी भएँ’

दुई साताभन्दा कम समय अगाडि कोरोनाभाइरसबाट सङ्क्रमित भएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त्यसयता पहिलो निर्वाचन र्‍याली सम्बोधन गरेका छन्।

निकै फूर्तीका साथ सम्बोधन गर्दै उनले फ्लोरिडामा उपस्थित भिडलाई आफू उत्तम स्वास्थ्य अवस्थामा रहेको अनि ‘रोग प्रतिरोधी’ बनेको बताए।

उनले प्रतिस्पर्धी जो बाइडनलाई कट्टर समाजवादीहरूको कठपुतली भएको आरोप लगाए तथा सञ्चारमाध्यमलाई पनि पक्षपाती भएको बताए।

स्यान्डफोर्ड नगरस्थित उक्त र्‍याली स्थलमा सामाजिक दूरी कायम गरिएको पाइएको छैन अनि कैयन् मानिसहरू विनामास्क उपस्थित छन्।

आगामी चार दिनमा निर्वाचनका बेला कडा टक्कर हुने ठानिएका चारवटा राज्यमा उनले भ्रमण गर्नेछन्।

सम्वाददाताहरूका अनुसार नोभेम्बर ३ को चुनाव जित्नका निम्ति फ्लोरिडामा विजयी हुन ट्रम्पको निम्ति अत्यावश्यक छ।

उनका प्रतिस्पर्धी जो बाइडन भने ओहायो राज्यको भ्रमणमा छन्।