नेकपा कर्णालीको बिवादको विषयलाई लिएर अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका बीचमा मध्यान्ह प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुने भएको छ । समाचार स्रोतका अनुसार अध्यक्ष प्रचण्डलाई पूर्व माओवादी पक्षधर नेताहरुले दर्ता गराएको अबिश्वास प्रस्ताव फिर्ता नगराए पार्टीकै समानान्तर समितिहरु गठन गर्ने चेतवनी दिएपछि सो बिवाद समाधानका लागि दाहाललाई दबाब बढेको छ । आज बिहान मात्रै अध्यक्ष दाहालले आफ्ना पक्षका नेताहरुसँग कुराकानी गरेको थाहा लागेको छ । प्रदेश स्तरबाट सो समस्या समाधान नहुने देखिएपछि सो समस्या समाधनको जिम्मा पनि दुवै अध्यक्षको थाप्लोमा आइपुगेको छ ।
नेकपा कर्णाली संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पदमुक्त गर्ने मामिलालाई लिएर उत्पन्न विवाद प्रदेशस्तरबाट समाधान हुने सम्भावना न्यून हुँदै छ।
यो विवाद समाधानका लागि पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले आपसीय सहमतिमा हस्तक्षप नगरे यसले पार्टी एकतालाई समेत धक्का पुग्ने रुप लिन थालेको भन्दै नेकपा प्रदेशस्तरीय नेताहरुले चेतावनी दिएका छन्।
मुख्मन्त्री शाहीपक्षका नेताहरुले सत्तापक्षका नेताहरुले नै केन्द्रीय तहका शीर्ष नेताहरुलाई कुनै पनि जानकारी नगराई छापामार शैलीमा अचानक अविश्वासको प्रस्ताव ल्याई उनलाई पदबाट हटाउन तेस्रो दिनमै संसदीय दलको बैठक डाकेको आरोप लगाएका छन्।
तर मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने १८ जना सांसदहरुले विगत ३ वर्षमा मुख्यमन्त्री शाही नेतृत्वको सरकारले सरकार र पार्टी दुवैको बदनाम हुनेगरी काम गरेको र यसले आगामी जनमत पनि गुम्ने खतरा रहेपछि उनको विकल्प खोजिएको स्पष्टिकरण दिँदै आएका छन्।
यसैबीच विवादकाबीच गुुलाफजगं शाहले आफूद्वारा पूर्वनिर्धारित संसदीय दलको बैठक आज मगंलबार दिउँसो १ बजे बस्ने दाबी गरेका छन्।
मुख्यमन्त्री शाहीले आफूविरुद्ध १८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेको भोलिपल्ट हिजो सोमबार अस्ति आइतबारको मिति राखेर शाहको कामकारवाही सन्तोजनक नभएको भन्दै उनलाई संसदीय दलको प्रमुख सचेतकबाट हटाई उनको उत्तराधिकारीको रुपमा सिताकुमारी नेपालीलाई नियुक्त गरेका थिए।
त्यसलगत्तै नेपालीले शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको १५ दिनभित्र संसदीय दलको बैठक बोलाउने विधानमा व्यवस्था भएको भन्दै कार्तिक ७ गतेका लागि बैठक आव्हान गरेकी थिइन्।