अभिषेक बच्चनलाई ट्रोलरले भने, ‘सिनेमाघर खुल्दा पनि हुनेछौ बेरोजगार’, दिए यस्तो जवाफ

ट्रोलरसँग कस्तो व्यवहार गर्ने ? दिमाग नतताई उनीहरुको बोली कसरी बन्द गर्ने ? यो अभिषेक बच्चनबाट सिक्नुपर्छ । अभिषेक बच्चन सोसल मिडियामा सधैं ट्रोल्सको निशानामा आउँछन् । विशेषगरी आफ्नो करियरको विषयमा तर अभिषेक आफ्नो नियन्त्रण नगुमाई ट्रोलर्सको मुख थुनिदिने काम गर्छन् ।

बुधबार भारतमा अनलक ५ अनुरुप केन्द्र सरकारले १५ अक्टोबरदेखि सिनेमाघरलाई सशर्त खोल्ने अनुमति दिएको छ । यो खबरमा प्रतिक्रिया दिँदै अभिषेकले ट्वीट गरे, ‘यो हप्ताको सबैभन्दा राम्रो खबर ।’केटनिप नामका प्रयोगकर्ताले अभिषेकको मजाक उडाउने उद्देश्यसहित सोधे, ‘तर तपाईं त त्यसपछि पनि बेरोजगार नै हुनुहुनेछ ।’

यसको जवाफमा बच्चनले लेखे, ‘यो अफसोसको कुरा हो, तपाईं अर्थात् दर्शककको हातमा छ । यदि तपाईंहरुलाई हाम्रो काम मन पर्दैन भने हामीले अर्को फिल्म पाउँदैनौं । त्यसैले हामी पूरा ज्यान नै लगाएर आफ्नो काम गर्छौं र राम्रो परिणामको आशा गर्छौं ।’

त्यसपछि अर्का एक प्रयोगकर्ताले सोधे, ‘द्रोणापछि तपाईंले कसरी फिल्म पाइरहनुभएको छ ?’ अभिषेकले यसको पनि जवाफमा लेखेका छन्, ‘मैले पाइनँ । मलाई केही फिल्मबाट निकालियो र फिल्ममा आउन निकै मुश्किल भएको थियो । तर हामी आशासहित बाँच्छौं, कोसिस गरिरहन्छौं र आफ्नो लक्ष्यतर्फ अघि बढिरहन्छौं । तपाईं दैनिक बिहान उठ्नुहुन्छ र घामको मुनि आफ्नो स्थान बनाउन संघर्ष गर्नुहुन्छ । जीवनमा केही पनि कुरा सजिलै पाइँदैन । जबसम्म जीवन छ, संघर्ष चलिरहन्छ ।’