काठमाडौ चिनियाँ दूतावासले नेपाल-चीन सीमा क्षेत्रअन्तर्गत आफ्नो देशको भूमिमा बनेका भवनहरू स्थानीय मानिसका लागि बनाइएका आवास भएको उल्लेख गरेको छ।
नेपालको स्थानीय तहका अधिकारीहरूले विगतमा आफूहरूले उपभोग गरिरहेको हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ मा चिनियाँ पक्षले यस वर्ष नौसहित ११ वटा भवन बनाएको बताएपछि यसै हप्ता प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले उक्त क्षेत्रको स्थलगत अध्ययन गरेको थियो।
तर मङ्गलवार काठमाडौस्थित चिनियाँ दूतावासले नेपाल र चीनबीच कुनै सीमा विवाद नरहेको र ती भवनहरू चिनियाँ भूमिमा नै बनेको बताएका थिए।
बुधवार नेपालको परराष्ट्र मन्त्रालयले ती भवनहरू नेपाली भूभागमा नबनेको सरकारी अभिलेखहरूले प्रमाणित गरेको जनाएको थियो।
मन्त्रालयका अनुसार उक्त स्थानमा भवन बनाइएका समाचार प्रकाशमा आएपछि विक्रम संवत् २०७३ सालमा नेपालको अन्तरमन्त्रालय टोलीले स्थगलगत अध्ययन गरी सीमाभन्दा करिब एक किलोमिटर भित्र चिनियाँ भूभागमा भवन बनेको निष्कर्ष निकालेको थियो।

चिनियाँ राजदूतावासका प्रवक्ता चाङ सूले भने, “मैले बुझेसम्म यी स्थानीय मानिसहरूका लागि बनाइएका आवासहरू हुन्।”
प्रवक्ता चाङ सूले चीनले सीमाका विषयमा नेपाल सरकारसँग राम्रो संवाद गरिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि मित्रवत् संवाद र सहमतिबाट दुई देशले समन्वय गरेर अघि बढ्ने बताए।

स्थानीय जनप्रतिनिधिले विगतमा आफूहरूले उपभोग गरिरहेको क्षेत्रमा ती भवन बनेको र विगतमा सडक निर्माण, पशुहरूको चरनलगायतका प्रयोजनका लागि आफूहरू त्यसतर्फ बिनाअवरोध आउजाउ गरेको बताइरहेका छन्।
नाम्खा गाउँपालिकाको वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङका अनुसार केही वर्षअघि दुईवटा मात्रै भवन बनाउँदा स्थानीय चिनियाँ अधिकारीले पशु क्वारन्टीनका लागि ती संरचनाहरू निर्माण गरिएको जानकारी दिएका थिए।
यसै हप्ता स्थलगत अध्ययनमा गएको टोलीमा पनि सहभागी रहेका तामाङले भने, “सुरुमा भवन बनेको बेला पशुहरूलाई खोप लगाउने ठाउँ भनेको थियो। अहिले खाली घरहरू मात्रै देखिन्छ। केही प्रहरीहरू मात्रै बसेका छन् र चिनियाँ सैनिक पनि त्यहाँ बसेको छैनन्। त्यही भएर किन बनाइयो बुझ्न सकिएको छैन।”