शिक्षामन्त्री गिरिराजमणि पोखरेलले रोकिएका परीक्षा सञ्चालनको तयारी, नयाँ शैक्षिक सत्र तथा विद्यालयल भर्नाको विषयमा सरकारले तयारी गरिरहेको बताएका छन् ।
स्थगित भएका परीक्षाहरुले सञ्चालन कहिले–कसरी गर्ने तयारी छ ?
पहिलो कुरा त अहिले विश्वव्यापी महाविपत्ति आएको कोभिड–१९ को र यसविरुद्ध महाअभियान पनि चलिरहेको छ। कोरोना भाइरस संक्रमणबाट नेपाल पनि अछुतो रहेको छैन। हामीले शिक्षा क्षेत्रको कामलाई पनि विपदसँग जोडेर हेर्नु पर्छ।
बाहिरबाट आएकाबाट परिवारमा पनि संक्रमण भएको देखिएको छ। यसले गर्दा समुदायमा संक्रमण नफैलियोस् भन्नका लागि दोस्रो चरणको काम भइरहेको छ।
शैक्षिक संस्थाहरुलाई क्वारेन्टाइन सेन्टर बनाइएको छ। यसले गर्दा परीक्षाहरु रोकिएका छन् भने नयाँ शैक्षिक सत्रको सुरुवात विगतका वर्षको जस्तो नयाँ वर्षको सुरुवातसँगै हुने सम्भावना देखिएको छैन।
तर हामी रोकिएका परीक्षाहरु चाँडो भन्दा चाँडो गर्ने र पठनपाठन पनि सुचारु गर्ने तयारीमा छौँ। यसो भनिरहँदा हामीले आन्तरिक संक्रमण र छिमेकी देश विशेष गरी भारतमा संक्रमणको अवस्था कस्तो हुन्छ भन्ने कुरा हेरिनु पर्छ।
खुला सीमा भएकाले हाम्रो देशसँगै भारतमा पनि अवस्था सामान्य बन्दै गयो भने लकडाउन अन्त्य भएको तीन हप्तापछि एसईई र सोही अनुसार समय तालिका मिलाएर परीक्षा गर्ने तयारीमा छौँ।
परीक्षाका लागि हामीले राष्ट्रिय परीक्षा बोर्डसँग पनि परामर्श गरिरहेका छौँ। लकडाउन सकिए लगत्तै परीक्षा सुरु हुँदैन। कम्तिमा तीन हप्ताको समय दिइन्छ।
परीक्षाको व्यवस्थापन र समय कसरी मिलाउने सोच्नु भएको छ ?
विशेष गरी एसईई र कक्षा ११ तथा १२ को परीक्षा शैक्षिक क्यालेन्डरमा प्रभाव नपर्ने गरी गर्ने तयारी छ।
भिडभाड गर्न हुँदैन र अहिलेको महामारीले सिकाए अनुसार नै भिडभाड नहुने गरी दुई वा तीन सिफ्टमा परीक्षा लिने र परीक्षा केन्द्रमा हेल्थ डेस्कको व्यवस्था गरेर परीक्षा गर्ने छौँ।
परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरुलाई मन्त्रायलको सुझाव के छ ?
चीनमा अहिले जनजीवन सामान्य भए पनि विद्यालयहरु खेलेका छैनन्। मैले यसो भन्नुको अर्थ, लकडाउन लगत्तै परीक्षा भइहाल्छ भन्ने होइन। तपाईँ तयारी गरिरहनु भएकाहरुलाई समय दिइन्छ।
अर्को कुरा बुझ्नु पर्ने के छ भने महामारीले पक्कै पनि परीक्षा प्रभावित पारेको छ। तर यसले थप तयारी गर्ने समय पनि दिएको छ। घरमै बसेर तयारी गर्नु होला। शिक्षकहरुसँग मोबाइल मार्फत सम्पर्क गर्न सक्नु हुन्छ।