प्रधानमन्त्रीको नेतृत्वमा सर्वपक्षीय संयन्त्रको आवश्यकताः अध्यक्ष दाहाल

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वव्यापी महामारीको रुप लिदै आएको कोरोना भाइरसको सामना गर्न सर्वपक्षीय संयन्त्रको आवश्यकता रहेको बताएका छन् । आज बेलुका ईमेज च्यालनलाई दिएको अन्तर्वार्ताको क्रममा अध्यक्षले सो कुरा बताएका हुन् । अध्यक्ष प्रचण्डले यो संकटको सामना गर्न सबै एकै ठाउँमा उभिन जरुरी भएको कुराकानीको क्रममा बताएका छन् । 

प्रधानमन्त्रीको नेतृत्वमा सर्वपक्षीय संयन्त्र बनाउनु पर्ने जसमा प्रमुख प्रतिपक्ष दल लगायत मूलधारका राजनीति पार्टीका नेताहरुलाई सहभागी गराउनु पर्ने कुराको छलफल प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीसँग आफ्नो तर्फबाट पहल गरिरहेको प्रचण्डले बताएका हुन् । 

यद्यपि सरकारले अहिले कोरोनाबाट ल्याउन सक्ने संभावित महामारीको विरुद्धमा जे जति प्रयत्न गरेको छ त्यसमा आफू सन्तुष्ट भएको बताउँदै सबैलाई समेटेर लानेतिर ध्यान दिन आफूले प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराइसकेको जनाएका छन् । अध्यक्ष प्रचण्डले आफूले सचिवालयको वैठकमा पनि यो कुरा उठाएको स्पष्ट पारेका छन् । 

स्वास्थ्य सामग्री खरिद प्रकरणमा भएको कमजोरीबारे पत्रकारले राखेको चासोप्रति अध्यक्ष प्रचण्डले यसमा प्रधानमन्त्रीले गम्भीर भएर छानविन गर्ने आश्वासन दिएको पनि जिकिर गरेका छन् । 

पछिल्लो सचिवालयको वैठकलाई विवादको वैठक र घोचपेचको वैठक बनाउन होइन कोरना विरुद्ध कसरी लड्ने भन्ने बारेमा आफूहरुको ध्यान केन्द्रित गरेको पूर्व प्रधानमन्त्री समेत भइसकेका अध्यक्ष दाहाल बताएका छन् । 

कोरोना भाइरसले अहिले विश्व अर्थतन्त्रमा गम्भीर असर पारिरहेको र अझै पार्नसक्ने प्रचण्डले बताएका छन् । नेपालको अर्थतन्त्रमा पनि कोरोनाको असर ठूलै पर्ने बताउँदै अहिलेको मुख्य विषय भनेको तल्लो वर्गलाई कसरी राहत दिने भन्नेतर्फ ध्यान केन्द्रित हुनु पर्ने उनको भनाई छ । अहिलेको प्राथमिकता भनेको जनताको जीवनरक्षा नै भएको अध्यक्ष प्रचण्डले बताएका छन् । 

अध्यक्ष प्रचण्डले यो संकटको सामना कुनै पनि किसिमको निरंकुशताले होइन कि जनताको एकताले मात्र गर्न सक्छ भन्दै नेपाली जनतालाई कुनै पनि किसिमको निरंकुशता स्वीकार्य हुनै नसक्ने बताए । यस व्यवस्थालाई अझ सुदृढ गरेर र अझ बढी नेपाली जनता एकताबद्ध भएर मात्र मानवजातिकै निम्ति देखा परेको यो संकटको सामना गर्न सकिन्छ भन्ने कुरामा आफूलाई विश्वास रहेको प्रचण्डले बताएका छन । 

अध्यक्ष प्रचण्डले  पार्टीका सम्पूर्ण पार्टी कार्यकर्तालाई दुवै अध्यक्षले जारी गरेको निर्देशनलाई गम्भीरतापूर्वक लिन र जनतामा चेतना पैदा गराउन लाग्न निर्देशन समेत दिएका छन् । 

पुँजीवादले विकास गरेको संरचना, संस्कृति खानपानले निम्त्याएको यो जटिल समस्याले विश्वलाई नै गम्भीर भएर सोच्न पर्ने बेला आएको प्रचण्डको तर्क रहेको छ ।  

अध्यक्ष प्रचण्डले अन्तर्वार्ताको क्रममा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको योगदानको प्रशंसा गरेका छन्  ।

कृपया भिडियो हेर्नुहोस,  watch?v=SGKqOW7HuO4