जनकपुरधाम: कोरोना भाइरसको महामारी नियन्त्रणको लागि प्रदेश २ सरकारले प्रदेशमा रहेको विभिन्न पाँच वटा अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको छ। बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले जिल्ला अस्पताल नभएका जिल्लाहरु पर्सा, धनुषा र सप्तरीमा रहेको अस्पताललाई ५०-५० बेडको अस्पतालमा परिणत गर्ने निर्णय गरेको हो।
पर्साको पोखरिया, धनुषाको डुमरिया र सप्तरीको भारदह स्थित अस्पताललाई जिल्ला अस्पतालको रुपमा स्तरोन्नति गर्ने निर्णय गरेको छ।
त्यसैगरी बाराको कलैया स्थित जिल्ला अस्पताल र महोत्तरीको जलेश्वर स्थित अस्पतालाई विशेष अस्पतालको रुपमा स्तरोन्नति गर्ने निर्णय गरेको छ।
जलेश्वर अस्पतालले हिजैबाट स्तरोन्नतिको काम शुरु समेत गरि सकेको छ।त्यसैगरी मन्त्री परिषदले कोरोनाको त्रासका बिच लकडाउन कार्यान्वयन गराउन अहोरात्र खटि रहेका नेपाल प्रहरीको मनोबल बढाउनको लागि न्यूनतम आवश्यकता पूर्ति गर्ने उद्देश्यले प्रदेशका सबै जिल्ला प्रहरी कार्यालयलाई ५/५ लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको छ।
संघ सरकारले प्रहरीको तलब काटने निर्णय गरेको समय प्रदेश सरकारले प्रदेशमा रहेका प्रहरीहरुको मनोबल बढाउन यस्तो निर्णय गरेको हो।
यता, प्रदेशमा रहेको पाँच वटा जेलहरुमा क्षमताभन्दा बढी कैदी रहेको हुँदा त्याँहा कोरोनाबाट जोगिने उपायहरु अबलम्बन गर्नका लागि प्रत्येक जेललाई २०-२०लाख उपलब्ध गराउने निर्णय गरेको छ।