काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दै गएपछि प्रशासनले त्यसको रोकथाम तथा नियन्त्रणका लागि लागु गरेको निषेधाज्ञाका कारण ब्रोइलर कुखुराको मासुको मूल्य ओरोलो लागेको छ।
नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले सरकारले गरेको लकडाउन तथा निषेधाज्ञाका कारण कुखुराको मासुको मूल्य ओरालो लागेको जानकारी दिए। लकडाउन र निषेधाज्ञाले कुखुरा पालक किसान मारमा परेको उनले बताए।
उनले भने, ‘यो व्यवसाय पनि तरकारीको जस्तै हो। लामो समयसम्म स्टोर गरेर राख्न मिल्दैन। अहिले मासु खपत हुने ठाउँ नै छैनन्। खपत हुने ठाउँहरुबाट मासु लिन आउँदैनन्।’
निषेधाज्ञाको समयमा आफूहरुलाई आवत–जावत गर्न असहज नभए पनि सर्वसाधारणका लागि भने समस्या भएको उनले बताए। जसका कारण किसानहरु मारमा परेका छन्।
किसानको लागत उठ्न पनि धौ–धौ भइरहेको उनको भनाइ छ। ‘किसानहरु डुबे’ उनले भने, ‘सहज दिनमा दैनिक उपत्यकामा ४–५ लाख किलो मासु खपत हुन्थ्यो। तर अहिले एक डेढ लाख खपत हुन पनि हम्मे–हम्मे भएको छ।’
उनका अनुसार सामान्य दिनमा नेपालभर दैनिक ९–१० लाख किलो मासु खपत हुन्थ्यो।
यस्तै उनले कुखुराहरुलाई दाना–पानीको समस्या नभए पनि किसानहरुले दैनिक प्रतिकेजी ८० रुपैयाँका दरले नोक्सानी खेपिरहेको बताए। ‘दानाको समस्या छैन’, उनले भने, ‘तर किसानहरुले दैनिक एक केजीमा ८० रुपैयाँ नोक्सानी खेपिरहेका छन्।’
सरकारले महामारीको कहरलाई रोक्न करिब ५ महिना लकडाउन गर्यो। त्यो अवधिमा किसानहरुले आफ्ना उत्पादनहरुले बजार नपाएको भन्दै कुखुरा तथा चल्लाहरु नष्ट गरे। त्यसपछि कुखुराको अभाव भयो। लकडाउनको बिचमा आएर कुखुराको मासुको मूल्य झण्डै चार सय पुगेको थियो।
लामो लकडाउनलाई सरकारले बिस्तारै खुकुलो बनाउँदै गर्दा व्यापार व्यवसाय, होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आए। त्यसपछि मासुको खपत बढ्दै थियो। पुनः निषेधाज्ञा जारी ग¥यो, जसका कारणले सञ्चालनमा आएका व्यापार व्यवसाय तथा होटल रेष्टुरेन्ट पनि बन्द भएसँगै मासुको मूल्य घटेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघ अध्यक्ष जंगबहादुर बिसीले बताए।
मासु बढी खपत हुने ठाउँ भनेको होटल तथा रेष्टुरेन्टहरु हुन्। खपत हुने ठाउँ बन्द भएपछि स्वतः मूल्य घट्ने उनले बताए।
‘निषेधाज्ञाले सबै ठाउँ बन्द छन्। होटल तथा रेष्टुरेन्ट पनि। यी क्षेत्र नै बढी मासु खपत हुने ठाउँ हुन्। मासु पसलहरु पनि बिहान ९ बजेसम्म मात्र खोल्ने नियम छ। कसरी मासुको मूल्य बढ्छ’ उनले भने।
उपभोक्ताहरुमा बढी मासु खानेमा मजदुरहरु भए पनि रोजगारी गुमाएपछि उनीहरुले पनि मासु खान छाडेको उनको भनाई छ। ‘धेरै मासु खानेमा तल्लो तहका श्रमिकहरु पर्छन्’, उनले भने, ‘अहिले उनीहरुले रोजगारी गुमाएका कारण मासु खान छोडेका छन्। अहिले धेरै मानिसहरुमा आर्थिक अभाव सिर्जना भइरहेको छ।’
हाल कुखुराको मासुको मूल्य खुद्रा बजारमा प्रतिकेजी २४० रुपैयाँ रहेको उनले बताए। ‘तत्काल मासुको मूल्य बढ्दैन। जबसम्म स्टकमा रहेको कुखुरा सकिँदैन, तबसम्म मूल्य बढ्दैन। त्यसका लागि कम्तिमा एक महिना लाग्छ’ उनले भने।