पर्सामा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु, मर्नेको संख्या ४६ पुग्यो

कोरोना भाइरसको संक्रमणबाट पर्साका थप तीनजनाको ज्यान गएको छ । वीरगञ्ज–१२ मुर्लीकी ६५ वर्षकी महिला र ४३ वर्षका पुरुष तथा वीरगञ्ज–२२ मनियारीका ३७ वर्षका पुरुषको कोभिड–१९ का कारण मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए ।

६५ वर्षकी महिलाको शुक्रबार उपचारको क्रममा नारायणी अस्पतालमा साँझ साढे ५ बजे मृत्युु भएको हो । उनी उच्च रक्तचापको समेत बिरामी थिइन् ।

यस्तै मुर्लीका ४३ वर्षका पुरुषको अस्थायी कोरोना विशेष हेल्थ केयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । एचआईभी एड्स र हेपाटाइटिस बीका बिरामी ती पुरुषको नेशनल मेडिकल कलेजबाट रेफर भएर अस्थायी कोरोना बिशेष हेल्थ केयर अस्पतालमा आएको केही घन्टापछि नै शुक्रबार राति ११ बजेर ५५ मिनेटमा मृत्यु भएको हो ।

वीरगञ्ज–२२ मनियारीका ३७ वर्षका पुरुषको हेल्थ केयरमा उपचार हुँदै आएकोमा त्यहाँ बाट थप उपचारको लागि काठमाडौँ लैजाने क्रममा मुग्लिङ नजिकै बाटोमा नै ज्यान गएको हो । योसँगै पर्सामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४६ पुगेको छ ।