नेशनल मेडिकल कलेजले उपचार नगरेपछि १७ वर्षीय सहनीको मृत्यु

वीरगञ्ज: वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले आईसीयु खाली नभएको भन्दै फिर्ता पठाएपछि अर्को अस्पताल लैजाँदै गर्दा एक जना बिरामीको बाटोमै मृत्यु भएको छ।

नेशनल मेडिकल कलेजमा उपचारको लागि आएका बाराको महागढीमाई नगरपालिका वडा नम्बर ४ दहियार टोलका १७ वर्षीय निरञ्जन सहनीको बुधबार मृत्यु भएको हो।

सहनीको खुटामा चोट लागेर घाउमा इन्फेक्सन भएको थियो। सोही इन्फेक्सनसहित निमोनियाले पनि ग्रस्त उनी उपचारको लागि नेशनल मेडिकल कलेज वीरगञ्ज पुगेका थिए।

तर त्यहाँ चिकित्सकले उपचार नगरेपछि उनलाई वीरगञ्जकै अर्को अस्पताल वीरगञ्ज हेल्थ केयरमा लैजाँदा मृत्यु भएको हो।

उनलाई निमोनिया पनि भएकोले आईसीयुमा राखेर उपचार गर्नुपर्ने अवस्थामा नेशनल मेडिकल कलेजले आईसियु कक्ष खाली नरहेकाले भन्दै फिर्ता पठाएको थियो।

आईसीयु खाली नहुँदा उपचारको लागि आएका सहनीलाई अन्य अस्पतालमा भर्ना गर्न भनेर फिर्ता पठाइएको कलेजका सञ्चालक बसुरुद्दिन अन्सारीले बताए।

उनले भने, ‘अस्पतालमा उपचारको लागि आएका बिरामी सहनीको खुटा काटिएको रहेछ। इन्फेक्सन पनि थियो’, अन्सारीले भने, ‘उनलाई आईसियुमा राखेर उपचार गर्नुपर्नेमा आईसियु नै खाली नभएपछि अर्को अस्पतालमा पठाएका हौँ, यसमा अस्पतालको के गल्ती छ र?’

नेशनल मेडिकल कलेजले यसअघि पनि बाराकै कलैया उपमहानगरपालिका वडा नम्बर २२ भोडाहाका २२ वर्षीय विजय कुशवाहाको उपचार गर्न नमान्दा ज्यान गएको आरोप लागेको छ।

गत चैत १६ गते शनिबार मसुरो दाँई गर्ने क्रममा थ्रेसरमा परी दुवै खुट्टा र हातमा घाउ लागेपछि उपचारका लागि नेशनल मेडिकल कलेजमा जाँदा कलेजले घाइते कुशवाहालाई भर्ना गरेको थिएन।

कलेजले भर्ना नगरी अन्यत्र रेफर गरेपछि १८ गते सोमबार कुशवाहाको विभिन्न अस्पतालमा लैजाँदा लैजाँदै ज्यान गएको थियो।

पछिल्लो समय कोरोना संक्रमण भएको हुनसक्ने आशंकामा निजी अस्पतालले सामान्य रुघाखोकीका बिरामीको पनि उपचार गर्न अस्वीकार गर्दै आएका छन्।