लक डाउन किसान मकै गोड्न व्यस्त

झापा: बुधबार झापाको बुद्धशान्ति गाउँपालिका ४ का किसान रामकुमार लिम्बु परिवारसहित खेतमा मकै गोड्न व्यस्त थिए।

उनलाई लक डाउनका बेला बिना काम बाहिर जानु भन्दा खेतमा बितिसकेको काम गर्दा उचित हुने लागेको छ।

किसान लिम्बुले भने, ‘यी हेर्नु न, मकैलाई झारले जितिसक्यो। त्यही भएर आजै गोडेर सकौं भनेर सबै खेतमा पो छौं।’

खाद्यान्न बालीमध्ये मकै धानपछि दोस्रो बालीमा पर्छ। त्यस्मा पनि अहिले किसानले विकासे मकै खेतमा ज्यादा लगाएका छन्। विकासे मकैका लागि सिँचाई लगायत गोडमेल समयमा गर्नुपर्ने हुन्छ।

किसान लिम्बु भन्छन्, ‘किसानले रमिता हेर्न हिँड्नु भन्दा काम गर्नु नै ठिक हुन्छ।’

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले दोस्रो म्याद थप गरेको लक डाउनको समयावधिमा कृषिको काम गर्न पाइन्छ भनेपछि अहिले किसान मकै गोड्न व्यस्त देखिन्छन्।

खेतमा पछुवा मकै लगाएका किसान अहिले काँटा तथा कोदालो बोकेर मकै गोड्न व्यस्त हुने गरेका छन्।