नेपाल उच्च जोखिममा रहेको कुरा विश्व स्वास्थ्य संगठनले वताएको केही दिनपछि नेपालमा पनि कोरोना भाइरसका ५ जना संक्रमित देखिए ।
यस रोगले जतिसुकै बलिया र धनी देश भएपनि उनीहरुलाई आच्छु आच्छु पारिरहेको छ । हतियार र सेनाको बलमा बिश्वमा साम्राज्य फैलाउन खोजेको अमेरिका जस्ता देशहरु अहिले कोरोना संक्रमणबाट हारगुहार गरिरहेका छन् । औषधी र डाक्टरको अभाव भइरहेको छ । स्वास्थ्य क्षेत्रमा विश्वमै अब्बल मानिएको युरोपेली देश इटलीमा त्यहाँको सरकारले नसकेपछि चिनबाट डाक्टर र औषधी बोकेर ठूलो टोली पुगिसकेको अबस्था छ ।
महाशक्ति सम्पन्न राष्ट्रहरुले आफ्नै बल बुताले केही गर्न नसकिरहेका बेला नेपाल सरकारले नागरिकको सुुरक्षाका लागि विषेश सर्तकता र पूर्वतयारीका सबै माध्यमहरु अबलम्मन गरिरहेको छ । सरकारले लकडाउन देखी कर्फयु लगाउनेसम्मका कामहरु गरेर आफ्नो कर्तव्य निर्वाह गरिरहेको छ । यतिबेला नेकपाको सिंगो पार्टी नेतृत्व र सरकारलाई यो विश्वाव्यापी महामारीबाट कसरी आफ्नो नागरिक बचाउने भन्ने चिन्ता छ ।
केन्द्र सरकार, प्रदेश सरकार र सिन्धुली जिल्लाका स्थानीय सरकारले कोरोना रोकथाम र न्यूनिकरणका लागि आफ्ना तर्फबाट कामहरु गरिरहेकाछन् । जिल्लाका सबै स्थानीय तहमा क्वारेन्टाइन र आइसोलेसन वार्ड बनाउने कामहरु भएका छन् । अहिलेको अबस्थामा सिन्धुलीको कमलामाई नगरपालिकाले काममा अग्रता लिएको देखिएको छ । यसको अर्थ अन्य स्थानीय तहले सक्रियता देखाएको छैन, भन्ने होइन । सबैले आफ्नो अबस्था अनुसार काम गरिरहेका छन्, सक्रिय छन् । जिल्ला सदरमुकाम, बढी मानिसहरुको आवतजावत र भिडभाड हुने क्षेत्र भएकाले सदरमुकाम बढी संवेदनशिल हुन्छ । यस्तो अबस्थामा हामीले स्थानीय प्रशासन र सरकारले दिएको निर्देशनलाई कडाइका साथ पालना गर्नुपर्छ । लकडाउन र निषेधाज्ञाका कारणले अहिले केही अप्ठेराहरु परेका छन् । तर त्यसलाई हामीले सहज रुपमा लिनुपर्छ । म पनि बैठक र केही नीतिगत निर्णहरु गर्ने बाहेक घरबाट निस्केको छैन । यो बन्द मेरो, तपाईको र छर छिमेक सबैका लागि हो । कोरोना संक्रमणबाट जोगिने सजिलो उपाय भनेकै आफ्नै घरभित्र सरसफाइका साथ बस्नु हो ।
जिल्ला पार्टी नेतृत्वको हैसियले पार्टी कमिटी, स्थानीय नेता कार्यकर्तालाई फोन गर्ने, गाउँ गाउँको अबस्था बुझ्ने र उनीहरुलाई सजग बनाउने काममा लागिरहेको छु ।
यति बेला आफ्नो बुद्धि र विवेक प्रयोग गर्ने, बाहिरबाट आएका मानिसहरुको अभिलेख राख्ने, उनीहरुका गतिविधी निगरानी गर्ने र सङ्का लागेमा स्थानीय प्रहरी प्रशासनलाई खवरगर्दै सचेत नागरिकको कर्तव्य निर्वाह गर्ने हो । यस्तो सङ्कटमा गाउँ टोलमा अप्ठेरो परेकालाई सहयोग गर्ने र स्थानीय पार्टी कमिटीलाई परिस्थिती असह बनेमा स्वयमंसेवक परिचलान गर्नेगरी तयारी अस्थामा रहन निर्देशन दिइसकेका छौं ।
यसो भन्दै गर्दा हामीहरु आत्तिने अबस्थामा छैनौं । आवश्यक निर्णयहरु लिने अनि नागरिकमा सम्प्रेषण गर्ने कामहरु निरन्तर भएका छन् । सरकार र स्थानीय निकायले गरेका कुराहरुमा खोट लगाउनुु पर्ने कारणहरु केही छैन । राज्यले दिने निर्देशन पालना गर्ने जिम्मेवारी आम नागरिकको हो । यस्तो निर्देशनको अवज्ञा तपाई हामीबाट भयो भने त्यसको परिणाम सुुखद हुुँदैन ।
आदरणीय सिन्धुलीवासी, यस्तो अबस्थामा सकारात्मक कुरा बोल्न जान्नेहरु चुुप लागेर बस्ने होइन । आफ्ना टोल छिमेकमा राम्रो सन्देश फैलाऊ, कलम चलाउन जान्नेहरुले आफ्ना कलमका माध्यमबाट राज्यको सकारात्मक कार्यमा आफ्नो मत जाहेर गरेर समर्थन समर्थन गरौं । जो सँग उपचारको ज्ञान छ, उनीहरुले संभावित भयावह अवस्थाबाट बच्नका लागि सकारात्मक सन्देश प्रवाह गरौं । सामाजिक सञ्जालमा नागरिकलाई आतङ्कित, भयभित र त्रसित हुने नकारात्मक टिका टिप्पणी नगरौं । एशियामा यो रोगको संक्रमण कम देखिएको छ । हामीहरु सजग हुने हो, आत्तिने होइन । त्यसैले नहुुने र नभएका कुरा गरेर समय खेर फाल्ने होइन, तपाई हामी सबै जिम्मेवार बनौं । (लेखक नेकपा सिन्धुलीका सचिव हुन् ।)