अमेरिकामा संघीय अदालतका न्यायाधीशको घरमा आक्रमण गर्ने व्यक्तिको नाम संघीय अनुसन्धान ब्यूरो (एफबिआई) ले सार्वजनिक गरेको छ ।
स्थानीय समय अनुसार आइतबार बेलुका भएको आक्रमणमा न्यू जर्सीकी न्यायाधीश एस्टेर सालेसका २० वर्षे छोरा डानियल एन्डलको ज्यान गएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । एस्टेरका श्रीमान गम्भीर घाइते भएका छन् ।
आक्रमणकारीको नाम रोय डेन होल्याण्डर रहेको एफबिआईले जनाएको छ । एफबिआईले बन्दुकधारीबारे थप जानकारी दिएको छैन । तर अमेरिकी सञ्चारमाध्यमले स्रोतलाई उद्धृत गरी होल्याण्डरको आफैलाई हानेको गोलीका कारण मृत्यु भएको छ ।

आक्रमणकारी भनिएका होल्याण्ड मृत भेटिएको घर । द न्यूयोर्क टाइम्स
फेडेक्स डेलिभरी म्यानको पोसाकमा रहेका होल्याण्डरले न्यायाधीश एस्टेरको घरमा गई (स्थानीय समय अनुसार आइतबार बेलुका पाँच बजे) घण्टी बजाएका थिए । ढोका खुले लगत्तै उनले गोली चलाएका हुन् । न्यायाधीश एस्टेरको नाममा रहेको प्याकेज ती व्यक्तिको कारमा पाइएको स्रोतले बताएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
आक्रमणकारी होल्याण्डरले आफूलाई ‘एन्टी–फेमिनिस्ट’ वकिलका रुपमा चिनाउने गरेको द न्यूयोर्क टाइम्सले जनाएको छ । उनले युवतीहरुलाई रातको समयमा दिइएको छुटविरुद्ध नाइटक्लबमाथि, महिलालाई हिंसाबाट सुरक्षित गर्ने कानूनविरुद्ध संघीय सरकारमाथि तथा महिला सम्बन्धी अध्ययनको पाठ्यक्रमविरुद्ध एक विश्वविद्यालयमाथि मुद्दा दायर गरेका थिए ।
उनले दायर गरेको एक मुद्दा सन् २०१५ मा न्यायाधीश एस्टेरको बेन्चमा थियो । त्यसबेला मेल–वन्ली मिलिटरी ड्राफ्टलाई चुनौती दिएका थिए ।
आक्रमणकारी भनिएका होल्याण्डको शव घटना भएको स्थानबाट २१० किलोमिटर पर न्यूयोर्कको सुलिभान काउन्टीमा फेला परेको हो ।