ब्राजिलमा मास्क अनिवार्य गर्ने कानूनलाई स्वीकृति, केही व्यवस्थामा भिटो प्रयोग

कोरोना भाइरस महामारीको हालको इपिसेन्टर दक्षिण अमेरिकी देश ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले सार्वजनिक स्थानमा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने कानून स्वीकृत गरेका छन् ।

यो कानून लागु भएसँगै अब ब्राजिलका नागरिकले सार्वजनिक स्थानमा जाँदा वा घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने भएको छ ।

तर उनले चर्च, स्कूल, पसल तथा उद्योगमा पनि मास्क लगाउनु पर्ने व्यवस्थामा भने भिटो प्रयोग गरेका छन् । यस्ता स्थानमा मास्क अनिर्वाय गर्दा त्यसले सम्पतीको अधिकार हनन् हुने बोल्सोनारोको दाबी छ ।

यस्तै जोखिममा रहेको समूहलाई सरकारले मास्क उपलब्ध गराउनु पर्ने तथा व्यवसायिक फर्महरुले तिनका कर्मचारीलाई मास्क दिनु पर्ने व्यवस्थामा पनि बोल्सोनारोले भिटो लगाएका छन् ।

अमेरिकामा जस्तै ब्राजिलमा पनि मास्क विवादास्पद बनेको छ र कतिपय अवस्थामा राजनीतिककरण पनि भएको छ ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प जस्तै बोल्सोनारो पनि मास्कको लगभग विपक्षमा छन् र उनले पनि ट्रम्पले जस्तै कोरोना भाइरसलाई सामान्य रुपमा लिँदै आएका थिए । बोल्सोनारोले निकै कम समय मात्रै मास्क लगाएका छन् ।

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको भए पनि गएको महिनादेखि नै ब्राजिलका शहरहरु खुला गर्न थालिएका छन् ।

दक्षिण अमेरिकामा सबैभन्दा धेरै जनसंख्या भएको ब्राजिल कोरोना भाइरसबाट विश्वमा सबैभन्दा बढी प्रभावित हुने देशको सूचिमा अमेरिकापछि दोस्रो स्थानमा छ ।

ब्राजिलमा अहिलेसम्म झण्डै १५ लाख मानिसमा संक्रमण पुष्टि भएकोमा ६१ हजार पाँच सय भन्दा बढीको ज्यान गएको छ ।

बिहीबार ब्राजिलमा ४८ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको थियो भने झण्डै १२ सयजनाको ज्यान गएको थियो ।

ब्राजिलको सबैभन्दा बढी प्रभावित रियो दि जेनेरियो शहरमा पछिल्ला दिनमा संक्रमण केही कम हुने क्रममा रहेको छ ।