सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमलामाई नगर कमिटी सिन्धुलीका इन्चार्ज महेन्द्रदेव श्रेष्ठले कोरोना महामारीका बेला पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका राजीनामा मागेर पार्टी नेतृत्वले विवेकपूर्ण निर्णय नगरेको बताएका छन् ।
तत्कालिन नेकपा एमाले र एमाओवादीका बीचको एकता प्रक्रियाकै बेला ओली ५ वर्षसम्म प्रधानमन्त्री बन्ने र प्रचण्ड ओली दुई अध्यक्ष भएर पार्टी सञ्चालन गर्ने सहमति भएको स्मरणगर्दे नेता श्रेष्ठले भन्छन्ः केन्द्रीय नेताहरुको प्रधानमन्त्री ओलीलाई त्रसित पार्ने, थकाउने र गलाउने अहिलेको गतिविधीले आम नेपाली जनता र तमाम पार्टी कार्यकर्तालाई निराश बनाएको छ
नेकपाका तमाम कार्यकर्ता मात्रै होइन, सम्पूर्ण नेपाली जनता नेपालमा स्थिर सरकार चाहान्छन् । उनीहरु पार्टी नेतृत्वमा कम्युनिष्ट आचरण, व्यवहार, मुल्य मान्यता र कार्यशली भएको देख्न चाहान्छन् । तर ती कुरा अहिलेको नेकपाको नेतृत्वमा देख्न नसक्नु दुःखद पक्ष रहेको उल्लेखगर्दै उनले नेकपा फुट्ने कुराको कल्पनासम्म गर्न नसकिने बताए ।

दुई पार्टी एकताका क्रममा गरिएका केही यस्ता विषय छन् जो महाधिवेशनबाट मात्रै हल गर्न सकिन्छ । प्रधानमन्त्री वा पार्टी अध्यक्ष फेर्ने भन्ने कुरा लहडमा हुन सक्तैन, कमजोरी हुन सक्छन्, त्यसलाई सच्याउँदै जान सकिन्छ, तर अहिलेको विषम परिस्थतिमा जनता र आम पार्टी कार्यकर्ताको मनोवल कमजोर पार्नेगरी गरिएका गतिविधी सर्वहारा आचरण र व्यहारभन्दा बाहिरका छन् जुन कुरा स्वीकार्न सकिंदैन, नेता श्रेष्ठले भनेका छन् ।
उनले अहिलेको विषम परिस्थितिमा कमलामाई नगरपालिका तथा सिंगो सिन्धुली जिल्लाका आम पार्टी कार्यकर्तालाई उच्च मनोबलका साथ सत्यका पक्षमा दृढताका साथ उभिन र पार्टीलाई बिखण्डन तर्फ धकेल्नेहरुका विरुद्ध सचेत रहन पनि अपील गरेका छन् ।
प्रदेशखवरसँगको कुराकानीका क्रममा नेता श्रेष्ठले अगाडि भनेका छन्ः पार्टी नेतृत्वले कहाँ र कसरी कमजोरी गरे ? पार्टीको राजनैतिक कार्यदिशाका विषयमा महाधिवेशन अगाडि छलफल चलाउँला तर अहिले सिंगो नेकपा नेतृत्वको सरकारलाई असफल पारेर कम्युनिष्ट पार्टी प्रतिनैं वितृष्णा पैदा गराउने नेतृत्वको कार्यशैली आफैंमा पिडादायी र उदेक लाग्दो रहेको टिप्पणी गरेका थिए ।