पार्टी एकता गम्भीर संकटमा परेको नेकपाको निष्कर्ष, राष्ट्रिपति भेट्न पुगे प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी एकता गम्भीर संकटमा परेको निष्कर्ष निकालेको छ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकता गम्भीर संकटमा परेको निष्कर्ष निकाल्दै बालुवाटारमा जारी स्थायी कमिटी बैठक आगामी शनिबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिए।

भोलि वा पर्सिसम्म दुई अध्यक्ष र शीर्ष नेताहरुबीच गम्भीर छलफल गर्नका लागि स्थायी कमिटी बैठक स्थगित गरिएको नेता श्रेष्ठले बताए।

नेताहरुबीच तत्काल मन्त्रिपरिषद् बैठक नबोलाउने र संसदको चालू अधिवेशन अन्त्य नगर्ने समझदारी भएपनि प्रधानमन्त्री ओली उक्त समझदारी विपरित गएपछि नेताहरुबीच थप छलफलका लागि बैठक स्थगित भएको उनको भनाइ छ।

संसदको चालू अधिवेशन अन्त्य गरेर प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश फेरि ल्याउने संकेत गरेपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए।

बिहानमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई भेटेकोमा प्रचण्ड पनि छुट्टै भेट्न पुगेका हुन् । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसदको वर्षे अधिवेशन अन्त्य गरेसँगै असन्तुष्ट बनेका प्रचण्डले यस विषयमा कुरा गर्ने बताइएको छ ।प्रचण्डले राष्ट्रपति भण्डारीलाई उक्त अध्यादेश आएमा जारी नगर्न सुझाएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। जवाफमा राष्ट्रपति भण्डारीले आफूसमक्ष त्यस्तो कुनै अध्यादेश नआएको बताएकी थिइन्।