सत्तारुढ नेकपाभित्रको आन्तरिक किचलो बढ्दै जाँदा दुवै पक्ष आफु बलियो बन्ने रणनीतिमा जुटेका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली विभिन्न विकल्पको खोजीमा परामर्शमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष ओलीलाई लगाएरै भएपनि प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य पार्ने रणनीतिमा जुटेको छन् ।
नेकपा भित्र कम्युनिष्ट आचरण, व्यहार, बिचार, सिद्धान्त र अनुशासन जस्ता विषयमा कहिल्यै बहस र छलफल भएन, बरु पद र प्रतिष्ठाका विषयलाई सैद्धान्तिक जलप लगाएर आफ्नो कुत्सित स्वार्थ पुरा गराउनका लागि अनेकन तिकडमहरु गरिए । आफ्नो स्वार्थ पुरा हुँदासम्म जे गरेपनि ठिक र इच्छा बिपरित भए त्यो गलत भन्दै स्वार्थ समूह वा भजन मण्डली मार्फत प्रचारवाजी गर्ने शकुनी शैलीले अहिले नेकपालाई नराम्ररी गाँजेको छ ।
दुई पार्टी बीचको एकतापछि नेपाली जनतामा देखिएको अभूतपूर्व आत्मविश्वासमा ठेस लगाउनेगरी एउटै जहाजका दुई पालटले २ वर्षसम्म त पार्टी र संगठनलाई बहुलट्ठी शैलीमा सञ्चालन गरेकै हुन् । पार्टी र संगठनलाई विधी र पद्धतिमैं सञ्चालन गर्नु पर्छ भनेर आवाज उठाउने माधव नेपाल तमाम पार्टी कार्यकर्ताका बीचमा एक्लो वृहस्पती बनिरहँदा दुई पाइलटनको आँखाका कसिंगर बनिरहेका थिए ।
तत्कालिन माओवादीलाई विद्यी र पद्धतिमा लैजानका लागि मोहन वैद्य, किरण, डा.बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ प्रकाश, रामवहादुर थापाजस्ता नेताहरुले लामै प्रयत्न गरे । तर उनीहरुले माओवादी पार्टीलाई किसान मजदुरको पार्टी बनाउन सकेनन् अर्थात विघटनको संघार पुग्यो । त्यसको प्रमुख कारण भनेको अध्यक्ष प्रचण्डको नेतृत्व अक्षमतानैं हो । आफ्नै लहडमा हिंड्ने ओली र प्रचण्डनैं अहिले नेकपा नामको जहाजका दुई लाइलट छन्, जसलाई नेकपाका तमाम कार्यकर्ताले राम्ररी बुझेका र जानेका छन् । त्यसैले पनि अहिले नेकपा भित्र देखिएको कलह वरिष्ठ नेता नेपालले भनेजस्तै आचरण, व्यवहार र पार्टी सञ्चालन विधी पद्धतिबाट गराउनकै लागि अहिले प्रचण्डले नेपाल र झलनाथ खनाललाई साथ दिएका हुन भन्ने अबस्था छैन । प्रचण्ड नेपाली राजनीतिका यस्ता खेलाडी हुन् जसलाई कित्ता फेर्न वा भत्काउन कुनै समयनैं लाग्दैन । करकलोको पातमा अडिएको पानी जस्तै हुन् प्रचण्ड, जुन धेरै समय एकै स्थानमा अडिनै सक्तैन ।
दुई पार्टी बीचको एकतापछि नेपाली जनतामाझ स्थिर सरकार दिन्छौ, शुसासन दिन्छौं, समाजवादी यात्राको बाटो तय गर्छौ, भनिएको थियो, तर अहिले ति सबै कुरा सकिएका छन् । अर्थात सत्ता स्वार्थका लागि सबै कुरा जायज हुन्छन् भन्ने गलत कुरालाई अहिले जर्वजस्त स्थापित गरिंदैछ ।
अहिले दैनिक ५ सयको हाराहारीमा नेपालमा कोरोना संक्रमितहरु भेटिन थालेका छन् । कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका कदमलाई चुस्त दुरुस्त बनाउनका लागि यतिबेला सबैको साथ र सहयोग सरकारलाई चाहिएको छ । क्वारेन्टाइनहरु मापदण्ड अनुसारका छैनन् । स्थानीय निकायहरु नेकपाकै नियन्त्रणमा छन् । एकाध बाहेक सबै स्थानीय निकायले बनाएका क्वारेन्टाइन मृत्युशाला बनिरहेको छ । यस्तो संवेदनशिल अबस्थामा स्थायी सरकार दिन्छौं भनेर जनताका बीचमा कसम खाएकाहरु अहिले सरकार ढालेर आफु बन्ने प्रयत्नमा लागिरहेका छन् ।
नेकपालाई प्रधानमन्त्री केपी ओलीले मात्रै होइन, अहिले विधी र पद्धतिको जामा पहिरिएर चर्का चार्का स्वरमा कराउनेहरुले पनि बिगारेका छन् । यसको सम्पूर्ण दोषबाट नेकपाका दुई पालट जिम्मेवार छन् ।यतिबेला मुलुकको प्रधानमन्त्री फेर्ने बेला होइन, कोरोना रोकथाम र नियन्त्रणमा कामयावी बन्न नसकेका संयन्त्रहरु सक्रिय बनाउने र कामै नलाग्ने भए मात्रै उनीहरुको बिकल्प खोज्ने हो । तर आफ्नो निहित स्वार्थका लागि देशलाई अन्धकारको दलदलमा धकेल्ने उदेश्यले विदेशी प्रभुको इशारामा गरिने ताण्डवले अन्ततः नेकपालाईनैं धुमिल बनाउने छ । त्यसबेला अहिले पार्टीलाई बद्नाम गराउन उद्यत हुनेहरुले त्यसको जिम्मेवारी लिनुपर्ने छ ।
सत्ता स्वार्थका लागि बढ्दै गएको टकरावले नेकपा नामको जहाजमा गडवडी प्रारंभ भएको छ भने दुर्घटनाको संघारमा पुगेको जहाजलाई सञ्चालन गर्ने पाइलटनैं असफल बनेका छन् ।











