चिनियाँ राजदूतले भनिन्- नेपालले जारी गरेको नक्सा चीनको इसारामा भन्नु आधारहीन र स्वार्थप्रेरित

नेपालको सार्भभौमिकता र भौगोलिक अखण्डताको पक्षमा चीन अडिग र स्पष्ट रहेको नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले बताएकी छन्।

राजदूत होउले गोरखापत्रसँग गरेको कुराकानीमा हालै जारी भएको राजनीतिक तथा प्रशासनिक नक्सा नेपाल सरकारले आफ्नो सार्भभौमिकता तथा भौगोलिक अखण्डताको रक्षाका लागि जनमतका आधारमा चालेको कदम भएको बताएकी छिन्।

‘नेपालका सबै राजनीतिक दलहरूले हालसालै जारी गरेको अध्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सामा सहमति गरेका छन् । यो नेपाल सरकारले आफ्नो सार्भभौमिकता तथा भौगोलिक अखण्डताको रक्षाका लागि जनमतका आधारमा चालेको कदम हो । नेपालले चीनको इसारामा यस्तो कदम चालेको भन्ने कुुरा आधारहीन तथा स्वार्थप्रेरित आरोपमा सत्यता छैन यस्तो आरोप एक स्वतन्त्र देश नेपाल र नेपाली जनताको स्वाभिमानप्रति अपमानमात्र होइन, नेपाल र चीनबीचको सम्बन्धमाथिको प्रहार पनि हो यो’, यान्छीले गोरखापत्रसँग भनेकी छिन्।

भारतले आफ्नो दावी गरेको लिपियाधुरा, कालापानी र लिपुलेकलाई समेट्दै नेपालले केही समय अघि नक्सा सार्वजनिक गरेको थियो। संविधान संशोधनमार्फत उक्त नक्सालाई निसान छापमा पनि समेटिएको छ। नेपालको यस कदमलाई भारतीय अधिकारी र सञ्चारमाध्यमले चीनको इसारामा चालेको कदम बताउँदै आएका छन्।

यान्छीले भनेकी छिन्, ‘पहिलो कुरा म स्पष्टसँग भन्न चाहन्छु कि चीन नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई सधैँ सम्मान गर्दछ । कालापानीको विषय नेपाल र भारतबीचको हो । हामीलाई विश्वास छ यो विषम परिस्थितिमा भइरहेको विवादलाई दुवै पक्षले सौहार्द्रपूर्ण संवाद तथा आपसी सहमतिका आधारमा टुङ्ग्याउनेछन् । यसबारे चीनको अडानमा कुनै परिवर्तन भएको छैन । दोस्रो कुरा, मलाई थाहा छ, केही गैरजिम्मेवार मिडिया तथा व्यक्ति, समूह चीनको वास्तविकता के हो र झुट के हो भन्नेबारे सधैँ अलमल पारेर जनमत भड्काउन खोजिरहन्छन् ।’

उनले नेपालसँगको सम्बन्ध वर्षौँदेखि सुमधुर र विवादरहित रहेको बताएकी छन्। भन्छिन्, ‘म यही भन्न चाहन्छु कि ‘अकबरी सुनलाई कसी लगाउनुपर्दैन’ । परिवर्तित र पटक–पटकको परीक्षणबाट नेपाल र चीनबीचको सम्बन्ध अकबरी सुन भन्ने स्पष्ट भएको छ । जस्तोसुकै कठिन अवस्थामा पनि चीन नेपालको पक्षमा दह्रोसँग उभिनेछ । हामी विश्वास गर्छौं कि सरकारको प्रयत्न तथा दुई देशबीचको सहकार्यबाट हामी निश्चित रूपमा यो महामारीविरुद्धको सङ्घर्ष जित्नेछौँ । म त्यो सुनौलो दिनको प्रतीक्षामा छु ।’

राजदुत यान्छीले बलियो नेतृत्व तथा प्रभावकारी प्रशासनिक संयन्त्रका कारण कोरोना महामारीको पहिलो केस चीनमा देखिएपनि त्यहाँ कम संक्रमण र मानवीय क्षति भएको बताएकी छिन्।

‘हामीसँग यस्ता महामारीविरुद्ध एकताबद्ध भएर लडेका थुप्रै अनुभव छन् । म केही अनुभव राख्न चाहन्छु । पहिलो, हामीसँग बलियो नेतृत्व तथा प्रभावकारी प्रशासनिक संयन्त्र छ । राष्ट्रपति सी चिनफिङको निर्देशन तथा नेतृत्वमा हामीले सरकारका सम्पूर्ण शक्ति तथा स्रोतहरू संयुक्त रूपमा परिचालन गर्दै सङ्घर्षमा उत्रियौँ । हामीले देशव्यापी रूपमा नियन्त्रणका कडा उपायहरू अपनायौँ भने महामारीको केन्द्रबिन्दु बनेको वुहानलाई सहयोग गर्नका लागि विभिन्न स्थानबाट स्वास्थ्य आर्थिक संयन्त्रहरू केन्द्रित गर्‍यौँ । महामारीको अवस्था हेरेर विभिन्न क्षेत्रमा विभिन्न तहका जोखिमको वर्गीकरण गर्नुका साथै त्यसको नियन्त्रणका लागि क्षेत्रगत रूपमा सार्वजनिक गतिविधि कम गर्ने छुट्टाछुट्टै उपायाहरू अपनायौँ ’, यान्छी भन्छिन्, ‘ दोस्रो, नियन्त्रणका वैज्ञानिक विधिहरू अपनायौँ । हामीले अग्रिम पहिचान, अग्रिम रिपोर्टिङ, अग्रिम आइसोलेसन र अग्रिम उपचारको नीति अपनायौँ । सङ्क्रमितहरूसँग सम्पर्कमा आएकाहरूको तत्काल पहिचान तथा परीक्षण हुनुपर्नेको तत्काल परीक्षण, अस्पताल भर्ना हुनुपर्नेलाई तत्काल अस्पताल भर्ना, आइसोलेसनमा राख्नुपर्नेलाई तत्काल आइसोलेसनमा राख्यौँ ।’

उनले कोरोना भाइरसको महामारीलाई जोडेर केही पश्चिमा शक्तिहरुले चीनको बदनाम गर्ने दुष्प्रयास गरेको पनि बताएकी छिन्। चीन एक्लै कोरोना महामारीसँग लडिरहेका बेला पनि विश्वलाई समयमै सचेत गराएको र अत्यावश्यक सामग्री पठाएको उनले स्मरण गर्न भनेकी छिन्।

‘हामीलाई ठूलो मात्रामा स्वास्थ्य सामग्रीहरूको आवश्यकता परिरहेको बेला पनि एन ९५ मास्क, पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई), न्युल्कि एसिड टेस्ट कीट र अन्य सहयोगहरू १२० देश तथा विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूलाई सहयोग गर्‍यौँ ’, अन्तर्वार्तामा यान्छीले भनेकी छिन्, ‘ दुर्भाग्य, केही पश्चिमा देश तथा राजनीतिज्ञहरूले यो महामारीलाई राजनीतिकरण गरेर आफ्नो व्यक्तिगत तथा राष्ट्रिय स्वार्थका लागि चीनविरुद्ध अफवाह फैलाउने साधनका रूपमा प्रयोग गरे । यो उनीहरूले आफ्नो कमजोरी ढाकछोप गरेर भोट सङ्कलन गर्न चालेको एक गैरजिम्मेवार कदमबाहेक केही हैन । यस्तो प्रकारको ‘इन्फोडेमिक’ काम चीनले महामारीविरुद्ध लड्न चिनियाँ जनताको योगदान तथा चीनको अन्तर्राष्ट्रिय समुदायसँगको गरेको सक्रिय सहकार्यको घोर अपमान हो ।’