कमलामाई नगरपालिकामा पाँच सय महिलाहरुले प्रत्यक्ष रोजगारी पाएकाछन्: उपप्रमुख मञ्जु देवकोटा


कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटा शिक्षण पेशाबाट राजनीतिमा आउनु भएको हो । तत्कालिन नेकपा एमालेबाट कमलामाई नगरपालिकाको उपप्रमुखमा निर्वाचित हुनु भएकी उहाँ अहिले नेकपा सिन्धुलीको सचिवालय सदस्य हुनुहुन्छ । कम्युनिष्टको उत्पादन थालेका रुपमा चिनिएको आजादनगरमा रहेर भूमिगत राजनीति प्रारंभ गर्नुभएको उहाँले बिकृत बन्दै गएको राजनीतिलाई कहिल्यै पनि पेशा र व्यवसाय बनाउनु भएन । शहिद ऋषिराज देवकोटा आजाद, दलवहादुर रजनमगर र दुर्गा सुवेदीले देखाएको बाटोलाई कहिल्यै भुल्ने छैन, उहाँले भन्नुभयो । अहिलेको समकालिन नेपाली राजनीतिबारे टिप्पणी गर्दै भन्नुभयोः राजनीति विसुद्ध समाज सेवा हो, तर त्यसलाई कसैले पनि आत्मसात गरेको देखिएन ।
उहाँ निर्वाचित भएको पनि तीन बर्ष वितेको छ । निर्वाचित भएयता संविधानलेनै तोके अनुसार विभिन्न समितिको संयोजकको जिम्मेवारी समाल्ने अवसर देवकोटालाई मिलेको छ । आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक पुरागर्दै आउनुभएकी उहाँले निर्धकका साथ भन्नुभयो, निर्वाचनका बेला जनतमाझ गरिएका प्रतिवद्धताहरु पुरा भइरहेका छन् । विषेश कुराकानी:
आर्थिक बर्ष २०७७ /०७८ को नीति तथा कार्यक्रम ल्याइसक्नुभयो, यसको सबैभन्दा राम्रो पक्ष के हो बताइदिनुस् न ?
नेपाल कृषि प्रधान देश हो, त्यसैले हामीले पनि विशेष गरि कृषिलाईनै प्राथमिकता राखेका छौ, यो सबल पक्षकै रुपमा लिएको छु । कृषिमा हामी देखिने काम गर्ने योजनाका साथ चक्लाबन्दी खेती तर्फ लाग्दै छौ । अनुदान दिने काम प्रभावकारी भएन । हामी निर्वाचित भएको तीन बर्ष भयो, हामीले आत्मनिर्भर बन्नका लागि दिएको अनुदान खासै प्रभावकारी भएको देखिएन । त्यसैले यसबर्षदेखि नगरपालिकामा दर्ता भएर काम गर्ने कृषि समुह सहकारीका लागि हामीले जिरो प्रतिशत व्याजमा ऋण प्रवाह गर्ने काम गर्दैछौ । अब रोजगारी पाएनौ भन्नेहरुका लागि कृषिमा काम गर्ने अवसर प्रदान गर्छौ । कृषिमा काम गर्नेहरुलाई हामी बजेट मात्र दिदैनौ, कृषि प्राविधिकको समेत सुविधा सँगै दिन्छौ । माटो सुहाउदो खेतीका लागि हामी उत्साहित गर्छौ । निति तथा कार्यक्रमको यो पहिलो सबल पक्ष र फरक पक्ष पनि हो । यो सँगै हामीले शिक्षा र स्वास्थ्यलाई समेत विषेश जोड दिएका छौ ।
तपाई अनुगमन समितिको संयोजक पनि हुनुहुन्छ, विकास निर्माणमा बारम्वार गुणस्तरियताको प्रश्न उठिरहन्छ, त्यसको खास कारण के हुनसक्छ ?
संविधानले व्यवस्था गरेअनुसार उपप्रमुखको नेतृत्वमा अनुगमन समितिको संयोजक बनाएको छ, त्यसले गर्दा अनुगमनको जिम्मेवारी मेरोनैं हो । बजेट विनियोजन भइसकेपछि हामीले जहाँ जहाँ बजेट विनियोजन भएको छ, त्यस्तो ठाँउमा उपभोक्ताको एउटा तालिम राख्ने गरेका छौ । यसमा काम कसरी गर्ने भन्ने सन्र्दभमै चर्चा हुन्छ । उपभोक्ता समितिका व्यक्तिहरु बढी जवाफदेहि हुनुपर्छ भन्ने प्रशिक्षण हामी दिन्छौ । खबरदारी गर्ने काम स्थानियकै हुने हुँदा हामीले खबरदारी गर्नुस्, सार्वजानिक संरचना दिर्घकालीन बनाउन स्थानियनै सक्रिय हुनुपर्छ भनेर लागि परेका छौ । उपभोक्ता समिति बनाउदा पनि समावेशी बनाउनुपर्छ महिला सहभागि अनिवार्य गर्न सुझाएका छौ । म प्राविधिक होइन, त्यसैले प्राविधिकलाई मैले भनेको छु, हातमा स्टमेट लिएर हिड्नुस, फित्ता सँगै बोक्नुस्, गुणस्तरि चेक गर्नुस् भनेका छौ । सबै ठाँउमा सञ्चारकर्मी लिएर जान सकेको अवस्था छैन । साना ठुला योजना कहिलेसम्म सक्ने भन्ने भन्ने तालिका सहित दिएर अगाडी बढ्न मेयरसाब सँग पनि छलफल गरेको छु । मंसिरमा सम्झौता भएका योजना जेठ असारमा मात्रै भकाभक काम हुँदा गुणस्तरमा प्रश्न चिन्ह उठेको हुन सक्छ । असार २२ मा काम पुर्ण रुपमा सक्नुपर्छ उपभोक्ता समिति हाल धमाधम काम गर्दैछन् यसले गर्दा बर्खामास छ, उपभोक्ता समितिले राम्रै चाहेर गर्दा पनि राम्रो र गुणस्तर देखाउन सक्ने अवस्था नआएको हुनसक्छ । केहि ठाँउमा उपभोक्ता समितिले गरेको काम गुणस्तरिय भएन भने गुणस्तरिय काम गरेपछि मात्रै भोक्तानी पाउनुहुन्छ भनेर समेत भुक्तानी रोकेका छौ । यसअर्थ गुणस्तरियनै छैन भन्ने होइन, कतै थोरै कमजोरी हुनसक्छ हामीले सुधार्न निर्देशन मात्रै दिएका छैनौं, उनीहरुको भुक्तानी रोकेका छौभने क्वान्टीटी र क्वालिटीमा कम्प्रमाइज गरेका छैनौं ।
कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि कमलामाई नगरपालिका क्रियाशिल देखिंदैछ तर जनतामा त्रास कायमै देखियो । विकासमा रोकावट आएको देखियो, अब बताई दिनुस् कि नगरपालिकाको पुर्वाधार विकासमा कस्तो असर परेको छ ?
कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि राज्यका तर्फबाट गरिएको बन्दाबन्दीले हामीलाई अहिलेसम्म निरन्तर गाँजीरहेको छ । पहिलो एक महिना त सबैमा त्रास र भयको वातावरण सिर्जना हुन स्वाभाविकै हो । कमलामाई नगरपालिकाको पुर्वधार विकासका कामहरु बन्दाबन्दीको समयमा नभएका पनि होइनन् तर जसरी काम हुनुपर्ने थियो, त्यसरी हुन सकेन, विकासमा ठूलै असर परेको छ । विकास निर्माणका सामाग्री ल्याउन ढिला भयो । जसले गर्दा विकासमा असर गरिरहेको छ । अझैं पनि कोरोनाको त्रास उच्च बनिरहेको छ । नागरिकहरु सुरक्षित साथ आफ्नो पेशा व्यवसायमा लाग्ने वातावरण बनिरहेको छैन । जोखिम र मृत्यु दर उच्च बनिरहँदा त्यसले त्रासलाई अझै बढाउँदै लगेको । सिन्धुली सदरमुकामको नागरिक र उद्योगी व्यवसायीले सुरक्षाका न्यूनतम मापदण्डहरु पालना नगर्दा कोरोना संक्रमणको त्रास ह्वात्तै बढेको छ ।

कमलामाई फिचर सेवाका लागि अनिल भण्डारीसँग विशेष कुराकानीगर्दे कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटा । फोटोः प्रदेशखवर दैनिक


हाम्रो संविधानले उपप्रमुखलाई न्यायाघीस पनि बनाएको छ , न्यायिक समितिमा कस्ता कस्ता मुद्धा आउँछन्, र कति फस्र्यौट भयो ?
संविधानको धारा २१७ दफा ४७ एक र दुईले हामीलाई त्यो अधिकार प्रात्यायोजन गरेको छ । संविधानले दिएको अधिकार क्षेत्रभित्र रहेर हामीले फौजदारी मुद्धा भन्दा देवानी मुद्धा हेर्ने हो । हालसम्म कमलामाई नगरपालिकामा यो आ.व मा ९५ ओटा मुद्धा दर्ता भएको छ जसमध्ये ६८ ओटा मुद्धा हामीले फस्र्यौट गरिसकेका छौ । अरु फस्र्यौटको चरणमा थिए चैत ११ गतेबाट मुलुकमा बन्दाबन्दी घोषणा भयो, त्यस पश्चात पनि २ ओटा मुद्धा आएका छन् । गाइबस्तु छाडा छोडेको जग्गा विवाद घर झगडा जस्ता मुद्धा आएका छन्, महिला हिंसाको मुद्धा अलि कमै आएको छ । सबै वडामा मेलमिलाप केन्द्र गठन गरेका छौ, उहाँहरुलाई पनि जिम्मेवारी दिएका छौ । यसले गर्दा वडा मेलमिलाप केन्द्रले पनि प्रभावकारी काम गरेकाछन् । न्याय सम्पादनलाई प्रभावकारी बनाउन हामीले छलफल गरेका छौ, पक्ष आउने विपक्ष नआउने समस्याका कारण पनि मुद्धाहरु फस्र्यौट हुन सकेका छैनन् त्यस्तो विषयलाई पनि हामीले आगामी दिनमा मुद्धा परेपछि उपस्थिति नहुनेलाई नगरपालिकाको सेवा सुविधानै रोकेर पनि उपस्थितिका लागि बाध्यकारी परिस्थिति श्रृजना गर्ने र अन्यायमा पर्नेलाई न्याय दिने भन्ने छलफल भएको छ ।
न्यायिक समितिको काम कर्तव्य र अधिकारको विषयमा अन्यौलता छ भनेर केही स्थानीय तहमा सुनियो, यसको वास्तविकता के हो ?
न्याय सम्पादनमा कुनै पनि किसिमको अन्यौलता छैन । गतबर्षसम्म केन्द्र सरकारले केहि हामीलाई निति नियम दिन्छ की भन्ने लागेर केहि अन्यौलमा थियौ । हाम्रो कार्यकाल दुई बर्ष पुगेर तीन लाग्दा हाम्रो कार्यक्षेत्र स्पस्ट आइसकेको छ । हामीले के के काम गर्ने के नगर्ने भन्ने कुनै अन्यौलता छ भन्ने मलाई लाग्दैन । हामीलाई प्रष्ट कार्यक्षेत्र दिएको छ कार्यक्षेत्र भन्दा बाहिर कहाँ जाने हामीले सेवाग्राहीहरुलाई हामी स्पस्ट भन्छौ । हामीले देवानी मुद्धा सबै हेर्न पाउछौ । फौजदारी मुद्धाको लागि कुन ठाँउमा जानुपर्ने हो हामीले समन्वय गरिदिने काम गरेका छौ । महिला सम्बन्धी गम्भिर प्रकृतिका मुद्धा न्यायिक समितिमै हेर्दिए हुन्थ्यो भन्ने गुनासो आएको छ । तर कार्यक्षेत्र बाहिरका सबै मुद्धा अदालतमै पठाउनुपर्ने अवस्था छ । न्यायलयका क्षेत्रहरु धेरै छन्, समन्वय गरेर काम गर्नुपर्ने अवस्था छ ।
अब यो बताई दिनुस् कि कमलामाई नगरपालिकाको उपप्रमुखको जिम्मेवारी पछि तपसम्हालेपछि तपाईले समुदाय र मतदाताको मन जित्न के के काम गर्नु भएको छ ?
महिलाको आयआर्जनमा काम गरेको छु, महिलासाथिहरुलाई बेरोजगार बस्नुनपरोस् भनेर उद्यमी बनाएको छु । ढाका उद्योगा, गार्मेन फुल खेती, फाइबर उद्योग जस्ता उद्योगमा महिलाहरुलाई रोजगारी दिएको छौ । त्यसमा पाँच सय जति महिलाहरु रोजगारी भएका छन् । महिलाहरुका लागि कम्युटर तालिम समेत दिएका छौ । हिंसा पिडित महिलाहरुका लागि सिप सिकाउने व्यवस्था मिलाएको छु । एक वडा एक उत्पादन कार्यक्रम लिएर समुदायमा गएका छौ, त्यसमा महिलानै आवद्ध हुनुहुन्छ । युवा तथा महिलाहरुलाई हामीले आत्मानिर्भरतिर लगेका छौ । किशोरी नगरस्तरिय सञ्जाल गठन भएको छ । महिलाहरुलाई स्वास्थ्यमा ध्यान दिएर बर्थिङ सेन्टर बनाएका छौ । उपमेयरसँग सुत्केरी महिला कार्यक्रम ल्याएको छु, सुत्केरीहरुलाई भेटघाट गर्न १ केजी घिउ लिएर पुगेको छु । असहाय बालबालिकालाई निशुल्क शिक्षा दिने व्यवस्था मिलाउन पहल गरेको छु । हरेक वडामा शहरी स्वास्थ्य क्लिनिक व्यवस्था गरेका छौ । जेष्ठ नागरिक भवन निर्माण भएको छ । मेरो छुट्टै घोषणा पत्र थिएन, मेयरसाबकै घोषणा पत्रमा सयुक्त रुपमा लागेका छौ । ऐलानी जग्गालाई नम्बरी बनाउनेतिर लागेको छु । काम धेरै छन्, हामीले प्रर्दशन गरेका छैनौं ।
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रकरणमा तपाईको धारणा के हो ?
कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारको सम्पुर्ण ध्यान केन्द्रीत भइरहेको छ । कोरोनाले मुलुकलाई अस्तव्यस्त अवस्थामा पु¥याउन लागिरहेको छ । देशमा अन्यौल र अराजकताको अवस्थामा ल्याउनेसम्मका गतिविधी देखिएका छन् । मेरो विचारमा एमसिसि नेपालको हितमा भएको जस्तो लाग्दैन । यदी एमसीसी देशको हितमा छ भने पास गरौ होइन भने नगरौं । हामी भन्दा माथि दुई ओटा सरकार छ त्यो सरकारले यस्ता विषयमा होसियारी पुर्वक निर्णय गर्नुपर्छ । पार्टी केन्द्रले गठन गरेको कार्यदलले एमसिसि प्रकरणमा आफ्नो धारणा सार्वजनिक गरिसकेको सन्दर्भमा पार्टीले गर्ने निर्णयनैं मेरो पनि निर्णय हुने भएकाले यसमा मेरो अलग कुनै धारणा भने छैन ।

सरकारले काम गर्न सकेन भनेर पार्टी भित्रैबाट आलोचना भएको देखियो ? के अहिलेको अवस्थामा सरकार परिवर्तन संभव छ र ?
यो विरोधीहरुले गर्ने कुरा हो । पार्टी भित्रै पनि केही नेतृत्वका साथीहरुले सरकारको आलोचना गरिरहनु भएको छ । अहिलेको संकटपूर्ण अबस्थामा सरकारलाई बलियो बनाएर कोरोना रोकथाम र नियन्त्रणका लागि लड्नुपर्ने अबस्थामा सरकार ढाल्ने योजना बन्नु हाँस्यास्पद कुरा हो, यो संभव पनि छैन । नेपाली जनताको लामा संघर्षपछि बनेको नेकपाको यो सरकार कुनैपनि देशी विदेशी शक्तिले ढाल्न सक्तैन । यो परिबेशमा सरकार परिवर्तन गर्नु पनि हुदैन । सरकार ढाल्ने भनेको परिवर्तनका खम्वाहरु ढलाउने हो । यति बेला ओली नेतृत्वको सरकारलाई सहयोग गरेर जानुपर्छ ।
अन्त्यमा कोरोना महामारीमा नागरिकहरु घर भित्र बस्ने, सरकार सञ्चालक अर्थात जनप्रतिनिधिहरु घर बाहिर निस्किनुपर्ने अवस्थामा कस्तो अनुभव गरिरहनु भएको छ ?
सकारले लकडाउन गरेपछि महामारी आयो अव हामी स्थानिय सरकारले खेल्नुपर्ने भुमिका के हो भन्ने विषयनै गम्भिर थियो । लकडाउन भएको एक हप्तासम्म चाहि बाहिर निस्किन मलाई पनि कता कता डरनै थियो । यद्यपी जनप्रतिनिधि भएको हैसियतले आफ्नो जिवन सुरक्षित राख्दै जनताको पिरमर्का र जनताको काम गर्न निस्किनै पर्ने थियो ।लक डाउनको १५÷२० दिन भएपछि जनता कि काम देउ कि माम देउ भनेर गुनासो गर्न थाले । त्यस्तो जनताको आवाज आएसँगै हामीमाथि थप चुनौती आयो भन्ने बुझियो । राहतसँगै नियन्त्रणका विधि सोचेर कमलामाई नगरपालिका सरकारले विपद् व्यवस्थापन कोषमा बजेट विनियोजन गर्ने र विभिन्न क्रियाकलाप गर्दै अगाडी बढ्ने योजना बनाएर काम गरेका छौ । सबै जनप्रतिनिधि आ आफ्नो ठाँउमा बढी खटेका थियौ । बाहिरबाट आएका मान्छेलाई कसरी व्यवस्थापन गर्ने जनतालाई कसरी जनचेतना जगाउने भन्ने तनावनै भयो । काम गर्दा गर्दै मिडियामा नराम्रो कुरा आउदा दुख लागेको छ । जनता तीन तला माथि छतबाट हेर्दा हामी रोडमा थियौ । स्वास्थ्य कर्मी सुरक्षा कर्मी, जनप्रतिनिधि र सञ्चारकर्मी निरन्तर लागि परेका थियौ । भयत्रासको बिचमा पनि जनतालाई खाने बस्ने कुरामा नियन्त्रण गरि रोगसँग लड्नलाई जनचेतना जगाएकै हौ । जनतालाई भोकै बस्न दिएका छैनौ, राहत दियौ । अब राहत मात्रैले हुदैन भनेर काम दिन थालेका छौ । अन्त्यमा तपाई र तपाईको मिडियालाई धन्यवाद दिन चाहन्छु । (साभारः कमलामाई फिचर सेवाका लागि अनिल भण्डारीले गरेको कुराकानीको सम्पादित अंश)