नेकपा एमाले नामको पार्टी निर्वाचन आयोगमा दर्ता गर्न निवेदन, नेकपामा खैलाबैला, वामदेवलाई प्रधानमन्त्री बनाउने आश्वासन !

निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ता गर्न निवेदन परेको छ । झापाकी सन्ध्या तिवारीको अध्यक्षतामा एमाले पार्टी दर्ताका लागि आइतबार निवेदन परेको हो।

उक्त विषयबारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आजको स्थायी कमिटी बैठकको सुरुआतदेखिनै चर्काचर्की भएको थियो । बैठकको एजेण्डा नै विषयान्तर हुने गरी यो प्रश्नले मं‌गलबारको बैठक प्रभावित भएको बैठकमा सहभागी एक स्थायी समिती सदस्यले बताए ।

श्रोतका अनुसार बैठकमा उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीकै निर्देशनमा नेकपा एमाले ब्युँताउने निवेदन दर्ता भएको बैठकमा बताएका थिए ।

बैठक चलिरहेका बेला एमाले दल दर्ताको निवेदन कसको निर्देशनमा निर्वाचन आयोगमा गएको हो भनेर प्रचण्डले नै सुरुमा प्रश्न गरेका थिए ।
केही दिनअघि प्रधानमन्त्री ओलीले दिल्ली र नेपालका केही शक्तिले आफूलाई हटाउने षड्यन्त्र गरेको बताएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको कुरा निकै गम्भीर रहेको भन्दै आजको बैठकमा सदस्यहरुले त्यसको सत्य तथ्य बताउन माग पनि गरेका थिए ।

बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिल्लीले भनेको कुरा आफूलाई थाहा नभएको तर पार्टी र सरकार ठिक ढङ्गले सञ्चालन नभएकाले आफूले नै प्रधानमन्त्रीको राजीनामा मागेको बताए । उनले दुई तिहाइको सरकार हुँदा पनि नागरिकले परिवर्तन अनुभुति गर्न नपाएको र पार्टीमा पनि ‘ओली दम्भ’ देखिएकोले अब राजीनामा नै उत्तम विकल्प भएको बताएको ती स्थायी कमिटी सदस्यले बताए ।

एक स्थायी समिति सदस्यले भने, ‘गैर जिम्मेवार अभिव्यक्ति र सरकारको कामकारबाहीसमेत प्रभावकारी नभएको भन्दै बोल्ने अधिकांश नेताहरुले प्रधानमन्त्रीको राजीनामा माग्नु भएको सत्य हो।’

बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, स्थायी समिति सदस्यहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, रघुजी पन्तसहितका नेताहरुले एक स्वरमा राजीनामा मागेका हुन्।

फेरि वामदेवलाई प्रधानमन्त्री बनाउने आश्वासन

बैठकमा ओलीले उपाध्यक्ष गौतमलाई प्रधाममन्नी बनाउने लोभ मंगलबार पनि देखाएको स्रोतले बतायो। अध्यक्ष दाहाल र वरिष्ठ नेताहरु खनाल र नेपाल आफूविरुद्ध एकपछि अर्को गर्दै खनिन थालेपछि ओलीले गौतमलाई आफ्नो पक्षमा उभिन आग्रह गरेका थिए।

गौतम निकट स्रोतले भने, ‘आज पनि तपाईंलाई प्रधानमन्त्री बनाउँछु मिलेर जाउँ भन्नुभयो।’ जवाफमा गौतमले आफूलाई प्रधानमन्त्रीको लोभ नभएको बताएको स्रोतले जानकारी दियो। लगत्तै बैठकमा औपचारिक रुपमा बोल्दै गौतमले ओलीले राजीनामा दिनुपर्ने बताएका थिए।

बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठ र सदस्यहरू बेदुराम भुसाल, गणेश साह, सुरेन्द्र पाण्डे, जनर्दन शर्मा, पम्फा भुसाल, गोकर्ण विष्ट र भीम आचार्यले पनि बोलेका थिए। बैठक बुधबार पनि बिहान ११ बजे बस्ने नेकपाले जनाएको छ।