अमेरिकामा संक्रमण पुन बढ्नु अति चिन्ताजनक: डा. एन्थोनी फाउची

अमेरिकाका वरिष्ठ सरुवा रोग विज्ञ तथा कोरोना भाइरस टास्क फोर्सका शीर्ष अधिकारीले सांसदहरुलाई पछिल्लो समय देशमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढी रहेको र यो अति चिन्ताको विषय रहेको बताएका छन् ।

केही राज्यमा अति तीव्र गतिमा संक्रमणका फैलिरहेको बताएका उनीहरुले यो अवस्था विचलित पार्ने खालको रहेको भन्दै सचेत गराए ।

डा. एन्थोनी फाउचीसहितको स्वास्थ्य अधिकारीहरुको टोलीले अबको केही दिन कोरोना भाइरसको नयाँ महामारी नियन्त्रणका लागि अति महत्वपूर्ण हुने बताएका छन् ।

लकडाउनसहितका उपायहरुमा छुट दिइएका बेला अमेरिकाका केही राज्यमा पछिल्ला दिनमा संक्रमण र गम्भीर बिरामी परेर अस्पताल भर्ना हुनेहरुको संख्या बढिरहेको छ ।

चार शीर्ष विज्ञले आफूहरुले कहिल्यै पनि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसको परीक्षण कम गर्न सुझाव नदिएको पनि बताएका छन् ।

गएको शनिबार राति ओक्लोहोमामा भएको चुनावी सभामा ट्रम्पले अमेरिकाले धेरै परीक्षण गरेकाले संक्रमण धेरैमा देखिएकाले सम्बन्धित अधिकारीहरुलाई परीक्षण कम गर्न भनेको बताएका थिए ।

सो विषयमा टिप्पणी गर्दै डा. फाउचीले भने, ‘मलाई थाहा भएसम्म, हामी कसैले पनि परीक्षण कम गर्न भनेका छैनौँ । वास्तवमा हाम्रो जोड बढी भन्दा बढी परीक्षण गर्नुमा रहेको छ ।’ डा. फाउची नेशनल इन्स्टिच्यूड अफ एलर्जी एण्ड इन्फेक्सस डिजिजका निर्देशक हुन् ।

डा. फाउचीसहितको शीर्ष स्वास्थ्य अधिकारीको टोलीले महामारीमा अमेरिकाको कामबारे संसदीय समितिले गरिरहेको छानबिनका क्रममा बयान दिएका हुन् ।

डा. फाउचीका साथमा सुनुवाईमा सहभागी भएका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी), फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) र डिमार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्विसका प्रतिनिधिले पनि आफूहरुले राष्ट्रपति ट्रम्पलाई परीक्षण कम गर्ने सुझाव नदिएको बताए ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसले भने परीक्षण कम गर्ने सम्बन्धी ट्रम्पको टिप्पणी ‘मजाक’ का रुपमा आएको बताएको छ । तर मंगलबार ट्रम्पले पत्रकारसँग आफूले कुनै पनि विषयमा मजाकमा कुरा नगर्ने बताएर राष्ट्रपति कार्यालयको बचाउ विपरित बोलेका छन् ।