जनकपुरको प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएका एक किशोरको बुधबार ज्यान गएको छ।
कोरोना लागेको आशंका प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको धनुषाको हंसपुर नगरपालिका वडा नं. ७ प्रसाही बस्ने १५ वर्षीय राजु सदाको मृत्यु भएको हो। सदाको मृत्यू भएपछि उनका परिवारजनले अनुसन्धानको माग गरेको छ।
भारतबाट आएर हंसपुर नगरपालिकाको क्वारेन्टाइनमा रहेका सदालाई प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । कोरोना नभइ अन्य रोगबाट ग्रसित भएका सदालाई प्रादेशिक अस्पतालमा ल्याइएको थियो तर अस्पतालमा कोरोनाको आशंका गर्दै बेवास्ता गरेपछि उनको मृत्यू भएको हो।
सदाको मृत्यु झाडापखालाको कारण भएको मृतककी आमा निलम देवी सदाले बताइन्। भारतको मदरासमा मजुदुरी गर्दै आएका सदा कोरोनाको कारण लकडाउन भएपछि बेरोजगार भएपछि भारत स्वदेश फर्केका थिए।
भारतबाट आएपछि जेठ १४ गते सदालाई क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा आएदेखिनै सदालाई झाडापखाला लागेपनि समयमा कसैले वास्ता गरेका थिएन्।
सदाको क्वारेन्टाइनमा आरडिटी परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि जेठ २८ गते प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । झाडापखालको समेत ग्रसित रहेका सदालाई अस्पतालमा पिसीआर टेस्टको लागि स्वाब संकलन भयो तर रिपोर्ट आउनमा ढिलो भयो।
रिपोर्ट नआएकोले उपचार नभएको र लामो समयसम्म झाडापखाला रहेकोले शरीर कमजोर हुँदै गएको र अस्पतालकै लापरवाहीको कारण मृत्यु भएको सदाका आमा निलमदेवीले दाबी गरिन्।
हंसपुर नगरपालिकाले भेदभावपूर्ण तरिकाले सदालाई ट्रिपरमा ल्याएर प्रादेशिक अस्पतालमा ल्याएपनि उनको स्वास्थ्यप्रति कसैले वास्ता नगरेको र आईसोलन कक्षमा पिडाले छटपटाइरहेको उनले बताइन्।
सदाको पिसिआर रिपोर्ट नेगेटिभ आएपनि आइसोलेसनमै उनको मृत्यु भएको छ । आफू दलित र गरिब रहेकोले छोरालाई मारिदिएको उनको आमाले आरोप लगाईन् । क्वारेन्टिन देखि लिएर आइशोलेसन सम्ममा कसैले चासो नदिएपछि छोराको ज्यान गएको उनको आरोप छ।
यता प्रादेशिक अस्पताल जनकपुरका फोकल पर्सन डा.कुलदीप पण्डितले अस्पतालमा सदा भर्ना भएपछि केहि दिनमै झाडापखाला निको भएको बताए । डा. पण्डितले सदाको मस्तिष्क घातको कारण मृत्यू भएको आशंका रहेको बताए।
डा. पण्डितका अनुसार राजुको रोगको बारेमा आफुहरुलाई ढिलो भएर थाहा पाएको र समयमा उपचार नभएकोले मृत्यु भएको हो । आफुहरुलाई रोगको बारेमा जानकारी भएसम्ममा राजुको मृत्यू भईसकेको थियो।