सरकारले मोटरसाइकलका लागि पनि जोर बिजोर प्रणाली लागू गरिएको निर्णय पठाएको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमबार बिहानैदेखि यसलाई कार्यान्वयनमा ल्याएको छ।
यसअघि मोटरसाइकलमा जोरबिजोर लागु हुनेबारे सरकारका प्रवक्ता युवराज खतिवडाले केही बोलेका थिएनन्। बिहीबार उनले सार्वजनिक गरेको सरकारको निर्णयमा उनले मोटरसाइकलमा एक जना मात्र चढ्न पाउने र अन्य निजि सवारी साधनको हकमा चालकबाहेक दुई जना बस्न पाउने बताएका थिए।
‘हामीलाई गृह मन्त्रालयबाट मोटरसाइकलमा पनि जोर बिजोर प्रणाली कार्यान्वयन गर्नु भन्ने पत्र आएको छ। सोहीअनुसार बिहानैदेखि लागु गरिएको हो’, ट्राफिक महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले भने।
मोटरसाइकलमा एक जना मात्र चढ्न पाउने निर्णयको चौतर्फी विरोध भइरहेका बेला जोर विजोरको निर्णयले सरकारको आलोचना भइरहेको छ। विगत केही दिनयता मोटरसाइकलहरु निष्फिक्रि चलिरहेका थिए। दुई जना चढेका मोटरसाइकललाई मात्र ट्राफिकले रोक्ने गरेको थियो।
जोर विजोर प्रणालीअनुसार उपत्यकाको हकमा तीन जिल्लाभर र बाहिरका हकमा जिल्लाभित्र मात्र चल्न पाइने बताइएको छ।