महाकाली सन्धि गर्नेहरुले माफी माग्नुपर्छः उपेन्द्र यादव

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रघाती महाकाली सन्धि गर्नेहरुले जनतासामु माफी माग्नुपर्ने बताएका छन् ।

नयाँ नक्सालाई निशान छापमा राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथिको छलफलमा बोल्दै अध्यक्ष यादवले सुगौली सन्धिभन्दा राष्ट्रघाति महाकाली सन्धी गर्नेहरुले माफी माग्नुपर्ने बताए ।

सुगौली सन्धिले महाकाली पश्चिमको भूमि भारतको भने पनि महाकाली नदीको भूभाग नै सीमा भएको कुरा राष्ट्रघाती महाकाली सन्धीमा उल्लेख भएको उनले बताए ।

उनले भने, ‘नेपाल इष्ट इण्डीया कम्पनी र नेपालबीच भएको सुगौली सन्धि अत्यन्तै अपमानजनक थियो । नेपालले ठूलो भूमि गुमाउनुपर्यो । नेपालले कुनै पनि युरोपियन अमेरिकन वा विदेशीलाई इष्ट इण्डीया कम्पनीलाई सोध्नुपर्छ भन्ने अपमानकजनक कुरा थियो । काली नदी पश्चिम सीमाना भनेर स्पष्ट लेखिएको थियो । तर महाकाली सन्धी गर्दा सन्धिका हर्ताकर्ताहरु धेरै ठूला पार्टीका ठूला नेताहरु त्यो बेला हुनुहुन्थयो प्रधानमन्त्री पनि हुनुहुन्छ । महाकाली नदीबाट पश्चिमका भागको दाबी नेपालले छोडेको हो सुगौली सन्धिमा तर महाकाली नदीको सम्झौता गर्दा त्यसको प्रस्तावनामा लेखिएको छ । महाकाली नदीको अधिकांश भाग दुई मुलुको सीमा नदी भएको स्वीकार गर्दै भनेर लेखिएको छ । सुगौली सन्धिले पाएको क्षेत्राधिकारलाई महाकाली सन्धिले पछाडि धकेल्ने कुरा उल्लेख छ । जवाफ दिनुप¥यो कांग्रेस कम्युनिष्ट पार्टीका नेताहरुले जवाफ दिनुप¥यो । यसका लागि हामी सबैले माफि किन नमाग्ने ? राष्ट्रवादीको नारा हामी दिन्छौँ मधेशीलाइ गाली गर्छौँ यीनी हरु भारतीय हुन, धोती हुन भनेर भन्छौ भनेर माफी माग्नुपर्यो नी ।’’

उनले महाकाली सन्धि गर्दा मुहानको टुंगो किन लगाइन भन्दै प्रश्न समेत गरे । नेपालको नक्सा पहिले चुच्चो भएपनि पछि गायब भएको उल्लेख गर्दै उनले यो कसको पालामा किन भएको हो त्यसको जानकारी सदनमा हुनुपर्ने बताए ।

कालापानी क्षेत्रमा ६० वर्षबाट भारतले विभिन्न संरचना निर्माण गरी सेना राखेको उल्लेख गर्दै उनले सन् १९६५ मा पनि सन्धि भएको कुराहरु बाहिर आएकाले यो विषयमा सरकारले जवाफ दिनुपर्ने बताए । नश्लवादी मानसिकता त्यागेर आन्तरिक राष्ट्रियतालाई बलियो बनाएमात्रै राष्ट्रिय एकता बलियो हुने उनले बताए ।

राष्ट्रवादको भावना टुट्यो भने कुनै पनि सेना, सरकार र संविधानले रोक्ने नसक्ने उनले बताए ।

नीतिगत कुराहरु आफ्नो ठाउँमा भएपनि राष्ट्रियता र देशभक्तिको सवालमा आफ्नो दल बलियो रहेको उनले बताए ।