राष्ट्रियसभा सांसदले गराए समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभा सदस्यहरुले समसामयीक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै पछिल्लो समय घटेका विभिन्न हत्या र आत्महत्याका घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै राष्ट्रियसभा सदस्यले हत्या तथा आत्महत्याका घटनाका सम्बन्धमा प्रभावकारी अनुसन्धान हुन नसकेको, हजारौँ व्यक्तिहरुले रोजगारी गुमाएको, विद्युत छुटमा सरकारले गरेको निर्णय कार्यान्वयन गर्न नसकेको लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

नेपाली कांग्रेसकी राष्ट्रिय सभा सदस्य तारादेवी भट्टले पछिल्लो समय भएका हत्या र आत्महत्याका घटनाहरुमा प्रभावकारी रुपले अनुसन्धान नभएको जनगुनासो आएकाले दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरिन् । उनले लकडाउन अवधिको समयमा सरकारले विद्युत महसुलमा छुट दिने निर्णय गरे पनि व्यवहारमा पुरानै शुल्क लिएको बताइन् । यस्तै नेपाल टेलिकमले छुट दिने घोषाणा गरे पनि अहिलेसम्म एकरुपैयाँ समेत छुट नदिएको बताइन् ।

नेपाली कांग्रेसकी अनिता देवकोटाले रुकुममा नवराज विकको हत्याको घटना सेलाउन नपाउँदै सप्तरीमा एकजना दलित माहिलालाई बोक्सीको आरोपमा कुटपिट गरिएको बताइन् । घटनापछि पीडितलाई मेलमिलाप गर्ने भन्दै स्थानीय तहले उजुरी दर्ता गर्न नदिएको भन्दै सबैलाई कारवाहीको माग गरिन् । उनले घटना प्रकृति फौजदारी अपराध भएकोले अपराध गर्नेलाई कडा कारबाही हुनुपर्ने बताइन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उदया शर्मा पोडेलले कोरोना भाइरसको महामारीका कारण बेरोजगारी र भोकमरीबाट प्रताडित भई जेठ २६ गते अछामको बयलपाटा अस्पतालमा रोजगारी खोसिएका सिद्धार्थ आउसीले आत्मदाह गरेको बताइन् । निजी क्षेत्रमा रहेका श्रमिकहरु, करार सेवामा रहेका कर्मचारी, निजी स्रोतमा चलेका शिक्षकहरु लगायतको रोजगारी खोसिएको भन्दै त्यसलाई रोक्न माग गरिन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की कोमल ओलीले त्रिभूवन विश्वविद्यालयमा लामो समयदेखि रहँदै आएका आंशिक प्राध्यापकहरुलाई २०७४ मंसिर ८ गतेको मन्त्रिपरिषद्को बैठकले करार गर्ने निर्णय गरेको तर अहिलेसम्म कार्यान्वयनमा नआएको बताइन् । उनले आंशिक प्राध्यापकहरुलाई करार गर्ने या नगर्ने भन्ने विषयमा शिक्षा मन्त्रालयले स्पष्ट पार्नु पर्ने बताइन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की गंगाकुमारी बेलबासेले लकडाउनलाई खुकुलो गर्ने निर्णय भएपछिको अवस्थामा महानगर र साझा यातायातहरुलाई व्यवस्थित रुपमा चलाउन माग गरिन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का चक्रप्रसाद स्नेहीले अछाममा अस्पतालमा रोजगारी गुमाएर आत्महत्या गर्न पुगेका व्यक्तिका परिवारलाई क्षतिपूर्तिको माग गरे । उनले रुपन्देहीको पशु फार्ममा सामूहिक रुपमा पाँचजनाको हत्या भएको घटनामा मानसिक सन्तुलन ठीक नभएका व्यक्तिले हत्या गरेको कुरा विश्वसनीय नभएकोले छानबिन गर्नुपर्ने बताए ।