नेपालमा ८० दिनपछि आजबाट खुकुलो हुँदै लकडाउन, बजार खुल्ने, निजी सवारी साधन चल्ने

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सावधानी स्वरुप लागू गरिएको लकडाउन खुकुलो बनाउने निर्णय गरेको सरकारले बिहीबार यससम्बन्धी औपचारिक घोषणा गर्दै छ।

मन्त्रिपरिषद्को बुधबार रातिको बैठकले गएको चैत ११ गतेदेखि लागू गरिएको लकडाउन सुरक्षात्मक सावधानी अपनाएर खुकुलो बनाउने निर्णय गरेको हो। नेपालमा ८० औँ दिनमा लकडाउन खुकुलो पारिएको हो।

सुरक्षात्मक उपाय अपनाएर बजार खोल्न दिने र काठमाडौँ उपत्यकासहित कम जोखिमयुक्त क्षेत्रमा जोर–बिजोर प्रणालीका आधारमा निजी सवारी साधन चल्न दिने निर्णय मन्त्रिपरिषद्ले गरेको हो। सो निर्णय औपचारिक घोषणापछि लागू हुने एक मन्त्रीले देशसञ्चारलाई जानकारी दिए।

सरकारले बिहीबार थप छलफल गरेर लकडाउन खुकुलो बनाउने सम्बन्धी निर्णयहरुको औपचारिक घोषणा गर्ने तयारी थालेको हो। सरकारले बिहीबार निर्णयहरु औपचारिक रुपमा घोषणा गरेपछि व्यवहारिक रुपमा लकडाउन खुकुलो हुनेछ।

लामो दुरीका सवारी साधन र सार्वजनिक सवारीका अन्य साधन भने अहिल्यै खोल्न दिइने छैन। जनजीवन सहज पार्न सरकारले जोरबिजोर प्रणालीका आधारमा निजी सवारी साधन सञ्चालन गर्न दिने र पसलहरु खुल्ला गर्न दिने निर्णय मन्त्रिपरिषद्ले बुधबार राति गरेको हो।

जोर अंक नम्बर भएको सवारी साधन जोर गतेको दिन र बिजोर अंक भएको सवारी साधन बिजोर गतेका दिन सञ्चालन हुने छन्।

निजीसहितका सबै निर्माण कार्य, विकास आयोजना तथा सपिङ मल, डिपार्टमेन्ट स्टोर (खाद्य सामग्री बाहेक) पार्टी प्यालेस, सिनेमा हल बाहेकका व्यापार–व्यवास तथा पसलहरु खुला गर्न दिने सरकारी तयारी छ।

रेस्टुरेन्टहरुबाट प्याकिङ्ग सेवा सञ्चालन गर्न पाउने व्यवस्था पनि गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार प्रतिनिधिसभामा सरकारले बुधबार साँझको मन्त्रिपरिषद्को बैठकले लकडाउन खुकुलो पार्ने र जनजीवन सहज पार्ने जानकारी दिएका थिए।