दुई हप्ता लक डाउन थप्ने निर्णय गर्न मन्त्रिपरिषद बैठक सुरु

मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको र संक्रमितको संख्या दिनदिनै बढेको अवस्थामा भावी रणनीति तय गर्न मन्त्रिपरिषद्को बैठक सुरु भएको हो।

केहीबेर अघि बसेको उच्चस्तरीय समन्वयन समितिको बैठकले गरेको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले कम्तिमा दुई हप्ता लक डाउन थप्ने गर्ने स्रोतको दाबी छ।

सरकारले चैत ११ गतेदेखि लक डाउन लागू गरेको छ। नेपालमा कोरोनाका कारण दुईजनाको मृत्यु भएको छ भने अहिलेसम्म दुई सय ९२ जना व्यक्ति संक्रमित भएका छन्।

उच्चस्तरीय समन्वय समितिको बैठकमा लक डाउनबारे गम्भीर रुपमा समीक्षा भएको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए।

उनले भने, ‘लक डाउनबारे सबै पक्षबाट विस्तृत छलफल भएको छ। लक डाउनका कारण संभावित संक्रमणलाई नियन्त्रणका राख्न धेरै सफल भएको निष्कर्ष निकालिएको छ। अन्यथा आँकलन नै गर्न नसक्ने अवस्थामा आउन सक्थ्यो।’

उनले क्याबिनेटले नै लक डाउनबारे निर्णय लिने बताए।

समितिले प्रदेश र स्थानीयतहका क्वारेन्टाइलाई व्यवस्थित गर्ने र त्यसका लागि अवाश्यक पैसा पठाउने, सुरक्षा सुरक्षा व्यवस्था अझ प्रभावकारी बनाउने निर्णय गरेको छ।