बिहानै गाउँमा हल्ला फैलियो– क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवाको मृत्यु भयो। छिनभरमै हल्ला नयाँबस्तीमा पुग्यो। मृतक युवाको घर थियो, नयाँबस्ती।
गाउँबाट मान्छे आउँदै गए। नरैनापुर गाउँपालिका वडा नं. ५ मा रहेको दिपेन्द्र मावि, भोजभगवानपुरमा ठूलो संख्यामा मानिसहरु जम्मा भए। भीड नै लाग्यो। स्थानीयले उचित रेखदेख हुन नसकेकाले मृत्यु भएको गुनासो गरे।
समयमा उपचार गर्न नलगिएको आक्रोश पोखिरहेका थिए। क्वारेन्टाइनमा बसिरहेका कतिपयले आफूहरुलाई केही नभएकाले घर जान दिन माग गरिरहेका थिए।
ठूलो संख्यामा सुरक्षाकर्मी पुग्नुअघि क्वारेन्टाइनभित्र र बाहिर रहेका मानिसको आक्रोश ‘आन्दोलन’मा मोडिने खतरा बढेको थियो। आसपाससँगै नेपालगञ्जबाट थप प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पुगेपछि ठूलो संख्यामा जम्मा भएका स्थानीयहरु तितरबितर गरिएको थियो।
कोरोनाको आशंका गरिएको, स्वाब लिइएको र रिपोर्ट आइनपुगेकाले स्कूल आसपासमा डरत्रास थियो। कोही नजिक जान सकेका थिएनन्।
मृतकका बुवा, आमा टाढैबाट छोराको शव हेर्दै रोइरहेका थिए। घटनास्थलमा पुगेका पत्रकार जे. पाण्डेका अनुसार, मृतकका बुवा छिन छिनमै बेहोस् भइरहेका थिए। आमा टाढै बसेर रोइरहेकी थिइन्।
गाउँमा डर त्रासको वातावरण थियो। अपराह्न साढे चार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिपोर्ट सार्वजनिक गर्दा युवकमा पोजिटिभ देखियो। वातावरण झन् डरलाग्दो भयो।
मृतकको शवलाई व्यवस्थापन गर्न नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको छ। बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले सुरक्षा निकायको व्यवस्थापनमा घरपरिवारको उपस्थिति धार्मिक संस्कार अनुसार अन्त्येष्टि गरिने बताए।
‘शवलाई घरमा लैजान पाइँदैन। सुरक्षा निकायको सबै व्यवस्था मिलाउँछ। घरपरिवारका सदस्यले अलिकति परैबाट आफ्नो संस्कार अनुसार अन्त्येष्टि गर्छन्’, एसपी ओलीले आइतबार साँझ भने, ‘मृतकको आजै अन्त्येष्टि हुन्छ।’
उक्त क्षेत्र नेपालगञ्जदेखि करिब ३५ किलोमिटरको दूरीमा छ। जिल्लाको यो पूर्वी नाकाबाट केही दिनयतामा ६ सय बढी मानिसहरु भित्रिएका छन्। नरैनापुरमा यसअघि नै आठ जनामा कोरोना देखिसकेको छ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेको टीमले मृतक युवासहित २ सय ६३ जनाको शनिबार मात्रै स्वाव लिएको थियो। स्वास्थ्य कार्यालयका अधिकृत एवं कोेरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, २ सय ६३ मध्येमा दिपेन्द्र माविबाट मृतक युवासहित ३९ जनाको शव लिइएको थियो।
स्वाब लिने बेलासम्म युवाको स्वास्थ्य अवस्था सामान्य रहेको श्रेष्ठले बताए। एक्कासी राती वान्ता हुँदै उच्च ज्वरो आएपछि बेहोस् भएका थिए। त्यसपछि उनी उठेनन्।