मोटरसाइकलमा प्रेस लेखी हतियार बोकेर घुमिरहेका दुई जनालाई प्रहरीले आज सर्लाहीबाट पक्राउ गरेको छ ।
प्रेस लेखिएको मोटरसाइकलमा हतियार बोकेर घुमिरहेको गोप्य सूचनाको आधारमा प्रहरी टोलीले हतियारसहित सर्लाहीको बिष्णु गाउँपालिका ३ निवासी २५ बर्षीय मदन साह कानु र भारतको सीतामढी जिल्ला मरहाडिहका निवासी १९ बर्षीय अनिश साहलाई पक्राउ गरेको हो ।
प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको संयुक्त टोलीले मोटरसाइकलमा सवार दुबै जनालाई हतियारसहित पक्राउ गरेकोे जनाइएको छ ।
दुबै जनाको साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउण्ड गोली, अर्को चाइनिज पेस्तोल एक थान, त्यसको म्यागेजिन र पाँच राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरिक्षक मदन कुँवरले जानकारी दिए ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन लगाइएको समयमा भारतीय नम्बर बीआर ३० एम ६७८७ नम्बरको मोटरसाइकलमा ‘प्रेस’ लेखेर घुमिरहेको अवस्थामा चेकजाँच गर्दा गाउँपालिका ३ विश्वनाथ टोलस्थित बाँसघारीबाट हतियारसहित दुबै जनालाई पक्राउ गरिएको कुबँरले बताए ।
तिनीहरु कुन प्रयोजनका निम्ति हतियार लिएर हिंडिरहेको भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।