धुलिखेल अस्पतालमा सुत्केरीको मृत्युबारे थप अनुसन्धान गर्छौँ: स्वास्थ्य मन्त्रालय

धुलिखेल अस्पतालमा बिहीबार बेलुकी निधन भएकी सुत्केरी महिलाको कोरोना भाइरस संक्रमणका कारण निधन भएको हो वा होइन भन्नेबारे सरकारले अध्ययन गरिरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ती महिलाको मृत्युबारे थप अनुसन्धान र विवरणहरु संकलन गरिरहेको र उनको कोरोना संक्रमणकै कारण मृत्यु भएको हो वा होइन भन्नेबारे पछि सार्वजनिक गरिने जानकारी दिए।

‘ती सुत्केरी महिलाको के कारणले मृत्यु भएको हो भन्नेबारे हामी थप विवरणहरु संकलन र अनुसन्धानहरु गर्दैछौँ, यसबारे थाहा भएपछि हामी फेरि जानकारी गराउनेछौँ,’ डा. देवकोटाले भने।

आठ दिनअघि त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको बिहीबार बेलुकी धुलिखेल अस्पतालमा निधन भएको हो। उनको २४ गते शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको र २५ गते डिस्चार्ज भएको डा. देवकोटाले जानकारी दिए।

बाह्रबिसे राम्चेस्थित घरमा उनलाई कोरोना भाइरस संक्रमणको लक्षण देखिएको थियो। उनलाई बाह्रबिसेस्थित स्वास्थ्य केन्द्रमा आरडिटी परीक्षण गर्दा नेगेटिभ देखिएको थियो।

यद्यपि श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि उनलाई धुलिखेल अस्पताल भर्ना गरिएको हो। धुलिखेल अस्पतालमा उपचारमा क्रममा बिहीबार बेलुकी उनको निधन भएको हो।

उनको स्वाब धुलिखेल अस्पतालमा परीक्षण गर्दा पोजेटिभ देखिएको र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्टमा पनि संक्रमण पुष्टि भएको धुलिखेल अस्पताल र स्वास्थ्य मन्त्रालयका स्रोतहरुले पुष्टि गरेका छन्।

अहिले धुलिखेल अस्पतालका उनको उपचारमा संलग्न सबैको स्वाब परीक्षण गर्नुका साथै उनीहरुलाई आइसोलेशनमा राखिएको छ।

त्यस्तै उनको डेलिभरी भएको टिचिङ अस्पतालमा पनि उनको शल्यक्रिया र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको टोलीको पनि स्वाब परीक्षण गरिएको छ ती महिलाको थप कन्ट्याक्ट ट्रेसिङ पनि भइरहेको डा. देवकोटाले जानकारी दिए ।

बाह्रविसे नगरपालिका स्वास्थ्य शाखा प्रमुख होमनाथ लामिछानेका अनुसार ती महिलाको आठ दिनअघि शिक्षण अस्पतालमा डेलिभरी भएको थियो।