आज बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठक कोरोना संक्रमणको त्रासका कारण रोकिएको बिबरण बाहिर आएको छ । अन्तर्यमा जे सुकै कुरा भएपनि यतिबेला नेकपा नेतृत्वले अपनाउनुपर्ने सावधानी र उपचार, छिमेकी भारतले नेपाली भूमि लिपुलेकमा गरेको अतिक्रमणको प्रतिरोध कसरी गर्ने र आगामी नीति कार्यक्रम र बजेटलाई कसरी जनमुखी र थलिएको अर्थतन्त्रलाई माथि उठाउनका निम्ती आफ्नो सम्पूर्ण ध्यान केन्द्रीत गर्नुपर्छ ।
यतिबेला सरकारका सामु चुनौतीका पहाडहरु बग्रेल्ती छन्, नेकपाको सरकार भएका कारणले पनि यतिबेला नेकपाका नेताहरुले आफ्ना स्वार्थहरुलाई थाँती राखेर समस्याहरुको जिम्मेवार र कुशलतापूर्वक लड्न जरुरी देखिएको छ । यतिबेला कोरोना संक्रमणका विबरणहरु डरलाग्दो ढंगबाट बढिरहेको अबस्थामा सत्तारुढ नेकपाका चार थान नेताहरु यी सबै चुनौतीहरुलाई वेवास्ता गर्दै आ–आफ्नो दुनो सोझ्याउने गरी पार्टीभित्र अनावश्यक चलखेलमा ज्यान फालेर लाग्दा सरकार र पार्टी नेतृत्वबीच अन्तरसंघर्ष मात्रै चर्केको छैन, सरकारप्रति जनताको चरम असन्तोष र वितृष्णा पनि बढाइरहेको छ ।
नेपाली उखान ‘पिँध विनाको लोटा’ भने जस्तै प्रवृत्तिका नेताहरुले आ–आफ्ना निहित स्वार्थ र फाइदाका लागि प्रधानमन्त्री र अर्का अध्यक्ष प्रचण्डलाई गणेश भगवानकै शैलीमा परिक्रमा गरिरहँदा नेकपाको नेतृत्वप्रतिनै शंका र आरोपको स्थिति पैदा गराइरहेको छ भने देश र जनताका तात्कालिक समस्यालाई ओझेल पारेर पार्टी र सरकार आन्तरिक स्वार्थमा केन्द्रित रहेको आरोपलाई प्रमाणित गराउने परिस्थिति बढ्दो छ ।
वास्तवमा वामदेवलाई प्रधानमन्त्री हुनुपर्ने, विष्णु पौडेललाई अर्थमन्त्री वा पार्टीको अझ बढी मुख्तियारी चाहिने र वर्षमान पुनलाई अझ बढी शक्तिशाली मन्त्री बन्ने, त्यो नभए ऊर्जामा टिकिरहनुपर्ने निजी स्वार्थको भुत चढेपछि उनीहरुले अहिले सिंगो पार्टीलाई काम कुरो एकातिर, विवाद बोकी विनासतिर धकेलिरहेका छन् ।
जल्दाबल्दा मुद्धालाई विषयान्तर गराएर दुई अध्यक्ष तथा सरकार र पार्टीबीच मतान्तर बढाउने अनि आफूलाई आत्मघाती हिरो बनाउने यीस्वार्थी प्रवृत्तिको बन्धक हुँदा नेकपामा आन्तरिक एकता र सरकारको प्रभावकारितामानै गम्भीर समस्या खडा भएको छ ।
प्रधानमन्त्री केपी ओलीको राजीनामा प्रचण्ड वा माधव नेपालहरुले मागेकै थिएनन् । मंसिरमा आफूलाई दिइएको कार्यकारी पार्टी अध्यक्षको कार्यान्वयन प्रचण्डको माग थियो भने एक व्यक्ति एक पद र सम्मानजनक साँगठानिक जिम्मेवारी माधव नेपालको सैद्धान्तिक माग र अडान थियो । पार्टी सिथिल भइरहेको र सरकारको आलोचना चौतर्फी बढेको बेला प्रचण्ड जत्तिको चलायमान नेता र माधव नेपाल जस्तो सफेद एवम् खारिएका नेताले नीतिगत रुपमा पार्टी र सरकारलाई सुधारेर विधि र पद्धतिमा फर्काउने कुरा गर्नु पदीय लोलुपता वा पूर्वाग्रही हर्कत थिएन र होइन पनि ।
तर, राजकीय वा पार्टी सत्तालोलुपताका पर्यायका रुपमा उदाएकाहरुको प्रवृत्तिले नेकपा नेतृत्व र सरकारलाई नै तेजोवध गरेर जनतामा सरकार र पार्टीप्रति वितृष्णा बढाउने, मुख्य मुद्धाबाट विषयान्तर गराउने गरी नयाँ विषको काम गरिरहेका छन् । कहिले ओलीलाई उकास्ने, कहिले प्रचण्डको साखुल्य बन्ने र घरीघरी गुट र समूहको नाममा पद र प्रतिष्ठाका लागि अराजनीतिक र अनैतिक हर्कत गर्ने यी प्रवृत्तिले नै नेकपा र सरकारलाई आन्तरिक रुपमा समस्यामा पारिरहेको छ ।
कोरोना संकटसँग लड्ने नाममा सरकारमा रहेकाहरुले कात्रोमा पनि कमिशन खाने घृणित प्रवृत्ति देखाउँदा सरकारप्रति पार्टीभित्र र वाहिर आक्रोस बढेको हो । ओम्नी समूहलाई पोस्ने र कोरोना रोक्ने नाममा नागरिक र निजामती सत्ता सेनामा बुझाउने रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलको कमाउने प्रवृत्तिले सरकारलाई बदनाम गराएको हो । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले दशौं गुना महंगोमा ओम्नीलाई स्वास्थ्य सामग्री खरीदको गैरकानुनी अधिकार दिएरनै सरकारको खुट्टामा बन्चरो हानेका हुन् भन्ने तथ्य बुझ्न मुस्किm छैन ।
प्रधानमन्त्रीको राजीनामा वा पार्टीमा विधि पद्धतिको माग सरकारका एकपछिका अर्का कमजोर र विवादास्पद निर्णय र कुकर्महरुको उपज थिए । ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथामका लागि गैरकानुनी रुपमा बनेको सीसीएमसीको मनलाग्दी निर्णयहरु, वेमौसमी अध्यादेश काण्ड, स्वास्थ्य सामग्री खरीदको नाँगो भ्रष्टाचार, वर्षमान पुन निकट मिडियाबाट सरकारको धारावाहिक आलोचना, चीनस्थित नेपाली राजदूत फिर्ता बोलाउनेदेखि कैयन विधि विपरीतका निर्णयले सरकारलाई बदनाम गराउँदै लादा समष्टिमा सरकारको नेतृत्वनै फेर्नुपर्ने मागहरु बढेका थिए ।
ठीक यही पृष्ठभूमिमा गणेश प्रवृत्तिहरु प्रचण्ड र ओलीलाई भाँडेर आफ्नो दुनो सोझ्याउन तल्लिन हुँदा अहिले सरकार र पार्टीको नेतृत्वनै कुहिरोको काग बन्न विवश छन् । सरकारका लागि सीमा रक्षा तथा भारतीय अतिक्रमित भूमि फिर्ता, कोरोनाको रोकथामका लागि अझ बढी आक्रामक र प्रभावकारी चेकजाँच तथा उपचारको चुनौती अहिलेका मुख्य कार्यभार हुन । कोरोनाको फेरिदै र बढ्दै गरेको संक्रमण रोक्न र जनतामुखी बजेट ल्याउन पार्टी र सरकारको सम्पूर्ण शक्ति खर्च हुनुपर्ने अहिलेको टड्कारो आवश्यकता हो । त्यसैले नेकपा अध्यक्षद्वय ओली–प्रचण्ड र माधव नेपाल एवम् पार्टी केन्द्रीय नेतृत्व पंक्ति अब पदलोलुप तथा सधै शक्तिको भक्तिमा रमाउने गणेश प्रवृत्तिहरुलाई बढी महत्व नदिएर कोरोना र सीमा आक्रमणको प्रतिरोधमा जनतालाई गोलवन्द गरेर अघि बढ्नु नै अहिलेको मुख्य कार्यभार हो ।
मन्त्रीपरिषदमा प्रधानमन्त्रीको भन्दा भिन्न मत रहेको प्रचार गराउने, आफ्ना निकटका मन्त्रीहरुको भेला राखेको बताउने अनि आफ्नो प्रतिकूल अवस्था बन्दै गएपछि एकताका लागि स्थायी समितिको वैठक राख्नुपर्यो भन्दै लबिंग गर्ने गणेश प्रवृत्ति पनि पछिल्ला दिनमा नांगेझार भएका छन् ।
गतिशील र क्षमतावान नेतृत्व प्रचण्ड, परिपक्व विधि र विधानमा जोड गर्ने माधव नेपाल अनि अनुभवी, सन्तुलित नेतृत्व झलनाथ खनाललाई सक्रिय बनाएर पार्टी र सरकारको कामलाई प्रभावकारी बनाउनका लागि सबैभन्दा बढी भूमिका खेल्नुपर्ने काम पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको हो । निषेधको राजनीति गर्दा नै व्यक्तिगत स्वार्थ केन्द्रित व्यक्ति र प्रवित्तिले अनावश्यक पार्टी र सरकारमा हावी बन्ने अवस्था आउँछ । यो प्रवृत्तिले पार्टी र सरकारलाई कदापी बलियो बनाउँदैनन् । यस्ता प्रवृत्तिलाई सधैं काखमा राख्ने तर आलोचनात्मक चेत राख्ने, आफूभन्दा पार्टीलाई प्राथमिकतामा राखेर जाने नेतृत्वबाट शीर्ष नेताहरु टाढा बस्दा पार्टी र सरकारलाई कमजोर बनाउँछ । कोरोना भाइरसको यो महामारीको समयमा आलोचनात्मक चेत राख्ने, जसले देश र जनतालाई प्राथमिकतामा राखेर सोंचिरहेको छ तिनलाई अनौपचारिक र औपचारिक छलफलमा प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी ओलीले विशेष प्राथमिकता दिएर कुराकानी अगाडि बढाएमा पार्टीभित्रका ५० प्रतिशत समस्याको हल निस्कन्छ । अहिलेकै अबस्थामा स्थायी समितिको वैठक राख्ने आफ्नै सत्तोसराप गराउनका लागि स्थायि समिति बैठक राख्न जरुरी छैन । गणेशजीहरुको घेराबन्दीमा पछि घुम्नुहोला, उनीहरुका भजन पछि सुन्नुहोला, तर अहिले मुलुक कोरोना संक्रमणले आक्रान्त बन्दैछ, एउटै नेकपा बनेको देख्ने नेपालीहरुको चाहनामा कसले कति कुठाराधात गरेको छ, त्यसको हिसाव किताब पछि गरौंला, अहिले केबल कोरोना र सीमा आक्रमण बिरुद्ध लडौं ।-राजनैतिक बिश्लेषण, प्रदेशखवर राजनैतिक व्यूरो