अन्ततः सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो ।
आइतबार रातिसम्म चलेको एमाले र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको हो । माओवादी उच्च स्रोतका अनुसार, गत वर्ष १० पुसमा बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बन्नेछ ।
त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) लाई पनि समेट्ने सहमति भएको छ । नयाँ सहमति अनुसार, आज बिहानै बसेको बैठकबाट रास्वपाले निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ ।
नेकपा माओवादी केन्द्रले शान्ति प्रक्रियालाई टुंग्याउने र सरकारको कामलाई नयाँपन दिनका लागि नयाँ गठबन्धन बनाउनुपरेको जनाएको छ । नयाँ गठबन्धनले वामपन्थी आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाउँदै ध्रुवीकरणको दिशामा लैजान मद्दत मिल्ने माओवादीको विश्वास छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले कांग्रेसहितको पुरानो गठबन्धन भत्काउँदै एमाले र रास्वपासहितको नयाँ गठबन्धन बनाउने निर्णय गरेको थियो ।
शान्ति प्रक्रिया टुंग्याउन नयाँ गठबन्धन बनाउनुपर्यो: माओवादी केन्द्र
बैठकपछि नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले भने, ‘कयौं चुनौती त छन् तर त्यसको बाबजुद पनि नेपालको वामपन्थी आन्दोलनलाई फेरी नयाँ शिराबाट अगाडि बढाउनको निम्ति सरकारको प्रसंगलाई जोड्दै वामपन्थीहरुको ध्रुवीकरणको दिशामा लैजाने उद्देश्यसहित नयाँ समीकरण बनाउने निर्णय गर्यौं हामीले ।’
सचिव पौडेलले अर्थ मन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्रीलाई अपेक्षा गरे अनुरुप सहयोग नगरेका कारण पनि गठबन्धन फेर्ने निर्णय गर्नुपरेको बताए । त्यस्तै राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा माओवादी केन्द्रको उम्मेदवारलाई हराउनु, कांग्रेस महासमिति बैठकमा जनयुद्धलाई गलत ढंगले टिप्पणी गर्नु र हिन्दु राष्ट्रको पक्षमा वकालत गर्नुले पनि कांग्रेस–माओवादी गठबन्धन टुट्न सहयोग पुगेको उनले बताए ।
उनले नयाँ गठबन्धनमार्फत् शान्ति प्रक्रिया टुंगो लगाउने र बजेटमार्फत् जनताका अपेक्षा पूरा गर्ने बताए । ‘नयाँ गठबन्धनतिर जाने, शान्ति प्रक्रिया टुंग्याउने, बजेट, नीति, कार्यक्रममार्फत जनताका डेलिभरीका कामहरुमा नयाँपन दिने,’ उनले भने, ‘त्यसको साथसाथै धर्म निरपेक्षता, समावेशी, समानुपातिकजस्ता विषयहरुको बारेमा जो नेपाली कांग्रेसभित्र छलफल चल्यो त्यसले संविधान प्रतिकुल हुने प्रकारका संकेत देखिएको र कोशी प्रदेशमा देखिएका कतिपय परिघटनाहरुको पनि समीक्षा गर्दै नयाँ गठबन्धनमा जाने निर्णय हामीले गर्यौं ।’
एमालेबाट पदम गिरी सरकारमा जाने
सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने भएका छन् । बालकोटमा बसेको एमाले सचिवालय बैठकले गिरीलाई सरकारमा पठाउने निर्णय गरेको हो । एमालेका प्रमुख सचेतक गिरी यसअघि पनि स्वास्थ्यमन्त्री बनेका थिए । सरकारमा रास्वपा पनि सहभागी हुने सहमति भएको छ ।
रास्वपाबाट डीपी अर्याल मन्त्री बन्दै
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डीपी अर्याल मन्त्री बन्ने भएका छन् । सोमबार उनले मन्त्री पदको शपथ लिने रास्वपाका एक नेताले जानकारी दिए । नयाँ सत्ता समीकरणमा रास्वपाबाट सभापति रवि लामिछाने नै सरकारमा सहभागी हुन चाहेका थिए । गृह मन्त्री बन्न चाहेका उनलाई नयाँ सत्ता समीकरणमा रहेका दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गृह मन्त्रालय दिन चाहेनन् ।
माओवादी केन्द्रबाट हितबहादुर तामाङ मन्त्री बन्ने
नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ मन्त्री बन्ने पक्का भएको छ । आज माओवादी केन्द्रबाट तामाङ मात्र मन्त्री बन्ने तयारी छ । माओवादी स्रोतले भन्यो, ‘आज हितबहादुर जीले शपथ ग्रहण गर्नुहुन्छ ।’