प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट एकताको पहल थालेको बताएका छन् । सुखानी शहीदका परिवारसँग आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले भने, ‘शहीदप्रति उच्च सम्मान छ, आजैको मितिदेखि कम्युनिष्ट एकताका लागि थप पहल गरेका छौँ ।’
तत्कालीन पञ्चायती शासकले २०२९ फागुन २१ गते रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जङ्गलमा हत्या गरेको थियो ।
तत्कालीन विद्रोही माओवादीले जनयुद्धको पहिलो शहीद दिलबहादुर रम्तेल मारिएको फागुन १४ गते र सुखानी हत्याकाण्डको दिन फागुन २१ गतेलाई समेटेर ८ दिनसम्म शहीद सप्ताहको रूपमा मनाउने गर्दछ ।
कम्युनिष्ट आन्दोलन र जनयुद्ध जोड्नुपर्छ भनेर फागुन १४ देखि २१ सम्म शहीद सप्ताह मनाउने गरिएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न सुखानीका शहीद परिवारका सदस्यहरु विसेश्वरा दाहाल, जीवन घिमिरे, रविन दाहाल, बुद्ध घिमिरेलगायत बालुवाटार गएका थिए ।