नेपालका कम्युनिष्टहरूले सिक्नुपर्ने पाठ

दक्षिण पूर्वि एयाली देश भियतनामका कम्युनिष्ट नेता थिए होचि मिन्ह । उनी भियतनाम कम्युनिस्ट पार्टीका अध्यक्ष र महासचिव थिए । उनी प्रजातान्त्रिक गणतन्त्र भियतनाम (उत्तर भियतनाम) को प्रधानमन्त्री (१९४५–१९५५) र रास्ट्रपति (१९४५–१९६९) पनि भए । उनी भियतनाम युद्धको समयमा प्रजातान्त्रिक गणतन्त्र भियतनाम (उत्तर भियतनाम), भियतनाम जनसेना स्थापना गर्ने मुख्य व्यक्ति थिए । उनले सन् १९४१ देखि भियतनाम स्वतन्त्रता आन्दोलन नेतृत्व गरे । सन १९५४ मा फ्रान्सलाई पराजित गरे । सन् १९६५ बाट स्वास्थ्य अवस्था खराब भएपछि पद छोडेका थिए । युद्ध पछि उनको नामबाट दक्षिण भियतनामको राजधानी सैगोनको नाम हो चि मिन्ह सिटी राखिएको थियो ।
होचि मिन्ह माक्र्स र लेनिनका सच्चा मित्र थिए । समाजवादका सफल नेता उनी असल कम्युनिष्ट थिए । सर्वहारा अन्तर्राष्ट्रवादमा विश्वास राख्ने होचि मिन्हको विश्व कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान रही आएको छ । भियतनामको स्वाधीनता र सार्वभौमिकतामा उनको महत्वपूर्ण योगदान थियो ।
समाजमा सामन्त, जमिनदार, पुँजीपति र साम्राज्यवादीहरूले विशेषगरी मजदुर र किसानहरूमाथि थिचोमिचो, दमन र शोषण गर्थे । यस्तो थिचोमिचो, शोषण र दमनको विरोधमा होचि मिन्ह लागे, मजदुर, किसान तथा श्रमजीवी जनता जागे भनेर अभियाननैं चलाईयो । क्रान्ति सफल पार्न मजदुर, किसान अघि बढ्नुपर्छ । पार्टी सबभन्दा अघि बढेको, सचेत, दृढ, अनुशासित र सुसंठित हुनुपर्छ । वर्ग विभाजित समाज भएकैले शोषक र शोसित वर्गमा विभाजित हुनु अस्वाभाविक थिएन । कोही पनि वर्ग त्यसभन्दा बाहिर जान सक्ने छैन ।
पुरानो समाजलाई नयाँ समाजमा फेर्न कठिन संघर्ष गर्नुपर्छ । कुनै नेताले बोलेर, आह्वान गरेर परिवर्तन हुने होइन । कसैले क्रान्तिकारी अभिभारा पूरा गर्नु छ भने उसमा क्रान्तिकारी नैतिकता आवश्यक हुन्छ । उसको हरेक कार्यक्रम परिवर्तनसित सम्बन्धित हुनुपर्छ । पुरानो समाजको खराब र खतरनाक पक्ष व्यक्तिवाद पनि हो । व्यक्तिवाद क्रान्तिकारी नैतिकता विपरीत छ । पुरानो समाजका खराब या गलत प्रवृत्ति हटाउन क्रान्तिकारी गुणको विकास गर्नु आवश्यक छ । क्रान्तिकारी गुण भएका मानिसहरू न कठिनाइदेखि डराउँछन् न त दुःख कष्टबाट पछि हट्छन् । तिनीहरू कहिल्यै पनि ढुलमुले हुँदैनन्, बरु राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा आफ्नो स्पष्ट धारणा अघि राख्छन्, अडान छोड्दैनन्, कुनै लोभमा फस्दैनन् र सधैं देश र श्रमजिवी जनताको पक्षमा निरन्तर खटिरहन्छन् । भियतनामी क्रान्तिकारी नेता र जनताबाट अरू देशका जनताले सिक्ने यही हो ।
होचि मिन्ह आफ्ना नेता, कार्यकर्ता तथा जनतालाई पार्टीको अनुशासनमा बस्न, जनताको समस्या बुझ्न जनतालाई सचेत पार्न र कार्यदिशा र नीतिहरू कार्यान्वयन गर्न दीक्षित गर्थे । देश, जनता र पार्टीको लागि निःस्वार्थरूपले काम गर्न उनी उत्साहित गर्थे । जनताको सैद्धान्तिक स्तर उठाउन, आफ्ना कमी कमजोरीहरू हटाउन, आत्मालोचना, आलोचना गर्न र अध्ययन गर्न जोड दिन्थे । सबैको प्रेरणादायी नेता होचि मिन्ह भन्छन्ः हाम्रो पार्टी मजदुर वर्गको सबभन्दा अघि बढेको सुसंगठित संगठन हो । भियतनामका जनताले औपनिवेशिक र सामन्ती आधिपत्य फाल्न वीरतापूर्वक लडेका थिए । स्वाधीन, प्रजातान्त्रिक र समृद्ध भियतनामको निर्माण गर्न, शोषण उन्मूलन गर्न र नयाँ समाज निर्माण गर्न जनता जुटेका थिए । यसका लागि नेता तथा कार्यकर्ताहरू मेहनती, मितव्ययी, इमानदार, निष्कपट र अध्ययनशील हुनुपर्छ तर नेपाली कम्युनिष्टहरु कहिल्यै अध्ययनशिल र अनुशासित भएनन् ।
मजदुरवर्ग र श्रमजीवी जनताको इमानदारीपूर्वक सेवा गर्नुनैं कम्युनिष्ट नैतिकता हो । समाजवादतर्फ अघि बढ्न अझै लामो र कठिन संघर्ष गर्नुपर्ने उनी बताउँथे । क्रान्तिको विरोध गर्न पुँजीवादी, साम्राज्यवादी, सामन्तवादको विरोध नगरी हुँदैन । जस्तोसुकै परिस्थितिमा वर्गशत्रुको दृढतापूर्वक संघर्ष गर्नुपर्छ । भियतनामको कम्युनिष्ट पार्टीले अहिलेसम्म निरन्तर मजदुर र श्रमजीवी जनताको साझा हितको प्रतिनिधित्व गरिरहेको छ । तर नेपालका कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरू जनताको नजिक कहिल्यै भएनन् । सिद्धान्त रटानको लागि मात्रै हो भनेझैं उनीहरुको बोली र व्यवहारमा कहिल्यै तादम्यता देखिएन ।
तसर्थ जनतालाई संगठित, सचेत, राजनीतिक, वैचारिक र सांस्कृतिक रूपले सुसूचित पारिनु पर्दछ । भियतनामको कम्युनिस्ट पार्टी र जनताबाट नेपालका कम्युनिष्टहरूले सिक्नुपर्ने पाठ पनि यहीनैं हो ।

-यो लेख सन्देश जनप्रिय साप्ताहिकले प्रकाशन गरेको हो ।