तिनपाटन गाउँपालिकाको पाँच नम्बर वडालाई सिन्धुली जिल्लाकै दोस्रो बालमैत्री वडा घोषणा

मझुवादोभान: तिनपाटन गाउँपालिका वडा नं. ५ लाई जिल्लाको दोस्रो बालमैत्री वडा घोषणा गरिएको छ । ५९ औं राष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर बालमैत्री वडा घोषणा गरिएको हो ।
वडा नम्बर ५ का वडा अध्यक्ष भूपालसिंह तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य श्यामकुमार घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री प्रदीप कुमार कटुवाल, बागमती प्रदेश सभा सदस्य, रामकुमार पहाडी, मातृकाप्रसाद भट्टराई, जिल्ला समन्वय समितिका सभापति कारसाङ लामा, उपसभापति शान्ता कार्की, तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर मगरको विशिष्ट आथित्यतामा भएको कार्यक्रम भएको थियो ।
तीनपाटन गाउँपालिकाका उपाध्यक्ष धनबहादुर पुलामी, तीनपाटन गाउँपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत युवराज काफ्ले, वल्र्ड भिजन ईन्टरनेशनका प्रमिल अधिकारी, रिलिफ नेपालका अध्यक्ष दुर्गाराज पौडेल, सिडस् नेपालका कोषाध्यक्ष बालकुमारी श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
बालमैत्री घोषणाको लागी आवश्यक पर्ने ५१ वटा सूचकहरू पुरा गरेपछि वडालाई बालमैत्री वडा घोषणा गरिएको तीनपाटन गाउँपालिकाले जनाएको छ । स्थानीय तहको आवधिक तथा वार्षिक योजनामा बाल अधिकारका सवाललाई प्राथमिकता दिने, समुचित विकासका लागि आवश्यक पर्ने सबै सेवा, सुविधामा हरेक बालबालिकाको पहुँच सुनिश्चित गराउने उद्देश्य बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ को रहेको छ ।

निर्देशिकामा बालमैत्री स्थानीय शासनका लागि तय गरिएका बाल बचाउका १४ सूचक, बाल संरक्षणका १० सूचक, बाल विकासका छ सूचक र बाल सहभागिताका छ सूचक गरी सेवा प्रवाहसम्बन्धी सूचक ३६ वटा र संस्थागत विकासका १५ सूचक गरी ५१ वटा सूचकहरु पुरा भएपछि वडालाई बालमैत्री वडा घोषणा गरिएको पालिका अध्यक्ष कर्णवहादुर थापा मगरले बताए ।
घोषणा सँगै जिल्लामा बालमैत्री वडा दुई वटा पुगेका छन् । यस अधि यसै पालिकाको वडा नम्बर १० लाई बालमैत्री वडा घोषणा गरिएको थियो । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८, कार्यान्वयन कार्यविधि २०६८, बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ र बालमैत्री स्थानीय निकाय घोषणा कार्यविधि २०७९ ले निर्दिष्ट गरेको कार्यान्वयनका ५ चरणहरू, ५१ वटा सूचकहरू पुरा गर्न वडा सँग सहकार्य गरेको रिलिफ नेपालका अध्यक्ष दुर्गाराज पौडेलले बताए । यस वडालाई बालमैत्री वडा घोषणाको लागी वल्र्डभिजन इन्टरनेशनलको सहयोगमा रिलिफ नेपाल र सिडस् नेपालले वडा र पालिकासँगको समन्वयमा काम गरेको थियो ।
निकै ठूलो तामझामका साथ गरिएको कार्यक्रममा भने वालवालिकाहरुलाई बिहानै कार्यक्रम स्थलमा बोलाइएको थियो । सो कार्यक्रममा १ घण्टा पैदल हिंडेर नक्कले र सनीबाट विद्यार्थीहरु मझुवादोभान पुगेका थिए । स्मरणीय छः सनीमा रहेको माध्यमिक विद्यालय यसै वर्षबाट घटाएर प्रावि मात्रै कायम गरिएको थियो ।