सिन्धुली: नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय समाजवादी केन्द्र बनाउने भन्दा पनि नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सँग निकटता बढाइरहेका छन् । पूर्वमाओवादी घटकहरूको एकताको प्रयास गरिरहेको बताउने प्रचण्डे विप्लवलाई पार्टीमा मिसाउन लबिङ गरिरहेका छन् ।
तत्कालीन नेकपा माओवादी विभाजन हुँदा मोहन वैद्य ‘किरण’ सँगै विप्लव पनि अलग्गिएका थिए । पछि वैद्यबाट पनि फुटेका विप्लवले २०७१ साल मंसिर १३ गते आफ्नै नेतृत्वमा नयाँ पार्टी बनाए । तर, समाजवादी मोर्चा हुँदै अहिले विप्लव फेरि प्रचण्डसँग जोडिएका छन् । पार्टीमा ल्याउने प्रचण्डको प्रयासमा विप्लव सकारात्मक छन् । केही समयअघिसम्म प्रचण्डविरुद्ध आक्रोश पोख्ने विप्लवका पछिल्ला अभिव्यक्ति प्रचण्डका लागि रक्षाकबच देखिन्छ ।
विप्लवलाई प्रचण्डसँग पुनर्मिलन गराउन माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा लागिरहेका छन् । विप्लव स्वंमले पनि अब अलग्लै बसेर समाजवादको यात्रा तय गर्न नसक्ने निष्कर्षसहित एकता प्रक्रियामा अघि बढेको बताएका थिए ।
त्यसो त महरामार्फत समाजवादी मोर्चामा विप्लवलाई प्रचण्डले ल्याएपछि नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई छायाँमा परे । मोर्चामा नअटेपछि अहिले प्रचण्डविरुद्ध आक्रोश पोख्दै पार्टी संगठन निर्माणको अभियानमा छन् । प्रचण्डलेको पछिल्लो गतिविधीले बाबुरामसँगको एकता करिव करिव अन्त्य भएको अनुमान गरिएको छ ।
प्रचण्डले महरामार्फत विप्लवलाई मिसाउन लाग्दा पार्टीका केही नेतामा त्रास उत्पन्न गराएको टिप्पणी भइरहेको छ । खासगरी उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुन झस्किएको भन्दै कतिपयले प्रचण्डको विप्लव कार्डले शर्मा र पुनलाई ब्यालेन्स गर्ने विश्लेषण पनि गरिरहेका छन् । यसअघि शर्मा र पुनको टकराबको कारण देव गुरुङले महासचिव हत्याएको विषय पनि उनीहरू स्मरण गर्छन् । माओवादीका एक पदाधिकारी भन्छन्, ‘बाहिर हल्ला फिँजाइएको जस्तो होइन । पहिले त पार्टी बन्नुप¥यो नि । पार्टी रहे न नेता । युद्धकालमा सँगै हिँड्नुभएको मान्छे । अहिले पनि सँगै जान के समस्या र ?’
प्रचण्डले पछिल्लो समय शक्ति गुम्दै गएपछि पूर्वमाओवादी एकतादेखि समाजवादी मोर्चा हुँदै नेकपासम्मको तुरुप फ्याँकिरहेका छन् । धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वलीलगायत नेताहरूले साथ छाडेपछि एक्लिएका विप्लव अस्तित्व रक्षाको लागि भएपनि सेफ ल्याण्डिङको बाध्यतामा छन् ।
विप्लव नेतृत्वको नेकपासँग पार्टी एकताको छलफल भइरहेको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सन्देश जनप्रियसँगको कुराकानीमा बताए । उनले भने, ‘हामीले उहाँहरूसँग एकताको लागि कुरा गरिरहेका छौं । अहिलेसम्म औपचारिक सहमति भइसकेको छैन । कसरी पदीय व्यवस्थापन गर्ने भन्ने कुरासम्मको छलफल भएको प्रचण्ड निकटस्थहरु बताउने गर्छन् ।
पार्टी एकताको विषयमा छलफल भएपनि विप्लवलाई महासचिव बनाउने भन्ने कुनै निर्णय नभएको पौडेलले बताए । पौडेलले अगाडि भने, ‘अब १७ गते केन्द्रीय समितिको बैठकको निर्णयपछि केही ठोस निर्णय हुनसक्छ ।’
माओवादी केन्द्रका अर्का सचिव डिलाराम आचार्य पनि विप्लव नेतृत्वको नेकपासँग एकताको विषयमा छलफल भएको बताए । उनले भने, ‘दुई पार्टीको दस्तावेज अध्ययन भइरहेकोछ, त्यसपछि एकताको कुरा टुंगिन्छ । पार्टीको दस्तावेज हेर्न, आगामी कार्यदिशा, रणनीति र सिद्धान्तको बारेमा छलफल बहस गरेर जानेगरी अझै तयारी भएको छ । चाँडै एकता प्रक्रियामा जाने तयारी छ ।’
गत महाधिवेशनमा नै राजनीतिक र सैद्धान्तिक विचार मिल्नेहरूसँग एकता गरेर जाने निर्णयअनुसार नै विप्लवसँग एकताको प्रयास भइरहेको केन्द्रीय सदस्य रञ्जित तामाङले बताए ।
जनार्दन र वर्षमानको टकरावलाई रोक्नको लागि अध्यक्षले विप्लवलाई पार्टीमा भित्र्याउन खोजेको चर्चा छ नि भन्ने प्रश्नमा उनले भने, ‘अहिलेको परिवेशमा उहाँहरूबीच टकराब छ भन्ने मलाई लागेको छैन । आकांक्षा दुवैको भएपनि महासचिव बनाउने बेलामा एकले अर्कालाई स्वीकार्न तयार देखिनुभएको थियो ।’
–उज्वल न्यौपाने